बालिका बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पुर्पक्षका लागि थुनामा

बालिका बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर शिवाकोटी पुर्पक्षका लागि थुनामा


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । बलात्कार अभियोगमा पक्राउ परेका झापा बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। शिवाकोटी २०७४ मा बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

सोमबार न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७ बमोजिम पुर्पक्षका लागि थुना पठाइएको उनले बताए ।

मंसिर २४ मा शिवाकोटी पक्राउ परेका थिए। घरेलु कामदार बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेका थिए। कलेज पोसाकमै पीडित बालिका काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकी जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकी सोधपुछ गरेका थिए।

त्यति बेला उनीहरूले घटनाबारे थाहा पाएपछि प्रहरीको सहयोगमा उनलाई उद्धार गरेका थिए। उद्धारपछि बालिकाले आफूमाथि पूर्व मेयर शिवाकोटीले पटक पटक जबरजस्ती करणी गरेको बताएकी थिइन्।

यस्तै, शिवाकोटीको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै अदालतले कारागारलाई उपचारको व्यवस्था गर्न पनि आदेश दिएको छ।