आमसञ्चार माध्यमले विभेद गरेको महिला सांसदहरुको गुनासो

आमसञ्चार माध्यमले विभेद गरेको महिला सांसदहरुको गुनासो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । आमसञ्चार माध्यमले आफुहरुलाई विभेद गर्ने गरेको गुनासो सङ्घीय संसद्का महिला सांसदहरुले गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरुले संसद्मा सार्वजनिक महत्वका मुद्दा उठान गर्दा मिडिया कभरेजमा विभेद हुने गरेकाले लैैङ्गिक संवेदनशिल हुन पत्रकारहरुलाई सुझाव दिए ।

महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा काठमाडौँमा आयोजित लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी अन्तरक्रियामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तले महिला सांसदलाई पुरुष सांसदको विकल्पको रुपमा व्यवहार गरिनु विभेद भएको बताइन् ।

“महिला सांसदले बोल्दा समाचार बन्दैन”, सांसद पन्तले भनिन्, “धेरै सांसदलाई बैठक सकेर चिया खाजा खाने भलाकुसारी गर्ने समय हुन्छ । महिला सांसदहरु बैठक सकेर घर पुगेर लुगा फेर्न नपाउँदै भान्छा पस्नुपर्छ । ९९ प्रतिशत महिला सांसदको समस्या हो यो ।”

उनले पत्रकारसँगको अनुभव सुनाउँदै राष्ट्रियसभालाई कम महत्त्वमा राखिएको गुनासो गरिन् । “सञ्चार माध्यमले महिला सांसदहरुलाई विकल्पको रुपमा प्रयोग गर्नुहुन्छ । पुरुष सदस्यले नभ्याएमा मात्र महिला सदस्यलाई सूचनाको लागि सम्झिनुभएको मसँग प्रशस्त अनुभव छ”, उनले भनिन्, “अझ राष्ट्रियसभाका सदस्यले महत्त्वपूर्ण विषयमा छलफल गर्दा समाचारको विषय बन्दैन । कभरेज नै हुदैन ।”

संसदीय सुनुवाई समिति (संयुक्त समिति)का सभापति ईश्वरीदेवी न्यौपानेले पनि समान अनुभव सुनाइन् । “संसद्मा महिला सांसदले गर्नुभएका राम्रो अभ्यासको कथा खै त आमसञ्चारले भनेको ?”, उनले भनिन् ।

अन्तरक्रियामा राष्ट्रियसभा सदस्य जयन्ती राईले पुरुष सांसद पत्रकारको प्राथमिकतामा पर्नुका कारण जिम्मेवारी र पद पनि भएको भनाइ राखिन् । “आमसञ्चार माध्यमबाट हामीलाई विकल्पको रुपमा लिइन्छ । महिला सदस्यको समाचारलाई धेरै बाइपास गरियो ”, सांसद राईले भनिन्, “भूमिका र जिम्मेवारीले पनि पछि परिने रहेछ । पार्टीभित्र जिम्मेवारी पाउँदै जाँदा हाम्रो आवाज स्वतः बुलन्द बन्छ ।”

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको संसदीय दलको सचेतक शुसिला थिङले पत्रकारले महिला सदस्यहरुले उठान गरेको सार्वजनिक महत्त्वको विषयलाई कभरेज दिन सुझाव दिइन् ।

प्रतिनिधिसभा सदस्य रोसन कार्कीले पत्रकारले महिला सांसदलाई गर्ने व्यवहार समान नभएको जिकिर गरिन् । सांसद कार्कीले भनिन्, “महिला सांसदसँग समाचार हुन्छ । महिलाहरुसँग प्रश्न किन नगर्ने ? संसदमा उपलब्ध समयमा महिला सांसदहरु बोल्नुहुन्छ । तर समाचार बन्दैन ।”

राष्ट्रियसभाको सदस्य मदन कुमारी शाह (गरिमा) ले महिला सांसदहरु अध्ययनशील हुनुपर्नेमा जोड दिइन् । प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले पार्टी र नेताभन्दा जनतासँग सरोकारका विषयमा प्रश्न गर्न पत्रकारसँग अनुरोध गरिन् ।

संसदीय मामिला हेर्ने पत्रकारहरूसँग लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला ३ दिने सम्म चलेकाे थियाे । संसदीय मामिला हेर्ने पत्रकारहरूलाई वरिष्ठ पत्रकार शिव गाउँलेले प्रशिक्षण दिएका थिए । कार्यशालामा संसदीय मामिलाकाे इतिहासदेखि अहिलेसम्मकाे अवस्था, संसदीय जाेडिएका समाचारकाे खाेजी, हार्ड न्यूज, सफ्ट न्यूज, डेप्ट न्यूज, खाेजि पत्रकारिता, लैङ्गिक संवेदनशीलता र संसदीय रिपोर्टिङकाबारेमा ३ दिनका विभिन्न सत्रहरुमा मिहिनरुपमा छलफल भएकाे थियाे ।