अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरूलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मन्त्रिपरिषदको मंसिर २८ गतेको निर्णयबमोजिम पुस्कार प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौंमा भएको साफ वुमन च्याम्पियनसिप फुटबलमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको २० औं एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरूङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ लगायतलाई पुरस्कार प्रदान गरिएको छ ।

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको कावा बिच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रधानमन्त्री ओलीले महिला फुटबल नेपालमा धेरै पुरानो खेल नभएको बताए । उनले केही समय पहिलासम्म धेरै मन पराउने खेलमा फुटबल रहे पनि अहिले क्रिकेटले पनि त्यत्तिकै माहोल बनाइरहेको उल्लेख गरे । उनले नेपालले आगामी दिनमा ठुला सफलताहरू प्राप्त गर्दै जानुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘महिला फुटबल नेपालमा धेरै पुरानो खेल होइन । मान्छेले सबैभन्दा धेरै मन पराउने खेल फुटबल थियो । अब विस्तारै क्रिकेट र फुटबलको एक खालको कम्पिटिशन नै छ । फुटबल पनि मानिसहरूले औधि मन पराउने र खेल्ने गर्दछन् । क्रिकेट पनि अत्यन्त मन पराइरहेका छन्, नयाँ पिढीले । यसमा तपाईंहको उन्नति प्रगति हुँदै जाओस् । आगामी दिनमा ठुला ठुला सफलताहरू प्राप्त हुँदै जाउन् ।’