काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा तेस्रो र चौथो खेलको पहिलो दिनको खेल सकिएको छ ।
पहिलो दिनको खेल सकिँदा मधेश प्रदेशसँगको खेलमा नेपाल पुलिस क्लबले पहिलो पारीमा ३ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पुलिसले ४५ रनको अग्रता लिएको छ । पुलिसका कुशल भुर्तेलले अर्धशतक बनाए । कुशल ६८ बलमा ६३ रन बनाएर आउट भए । मधेशका हरिशंकर शाहले २ विकेट लिए ।
यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १ सय २९ रनमा अलआउट भयो । मधेशका मयन यादवले ५९ रन बनाए । पुलिसका गुल्सन झाले ५ विकेट लिए ।
यस्तै अर्काे खेलमा त्रिभुवन आर्मी क्लबसँग बाग्मती प्रदेशले पहिलो दिनको खेल सकिँदा पहिलो पारीमा ५ विकेट गुमाएर १ सय २४ रन बनाएको छ । बाग्मती १ सय ५२ रनले पछि छ । बाग्मतीका शुभ कंसाकरले ३४ रन बनाए । आर्मीका आकाश चन्दले ३ विकेट लिए ।
यसअघि जनकपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो पारीमा ५ विकेट गुमाएर २ सय ७६ रन बनायो । आर्मीका इमरान शेखले ७२, बसिर अहमदले नटआउट ५३ रन बनाए । बाग्मतीका विपिन आचार्यले ३ विकेट लिए ।
प्रतियोगितामा चार वटा टोली छन् । यसअघि भएका दुवै खेल बराबरीमा सकिएको थियो । यसअघि आर्मी र पुलिस तथा मधेश र बाग्मतीबीच खेल भएको थियो । बराबरीसँगै बाग्मती १५ अंकसहित तालिकाको शीर्ष, मधेश १५ अंकसहित दोस्रो, पुलिस १५ अंकसहित तालिकाको तेस्रो र आर्मी १४ अंकसहित पुछारमा छ ।
प्रतियोगितामा प्रारम्भिक चरणका खेल दुई दिवसीय फर्म्याटमा गरिएको छ । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
प्रतिक्रिया