श्रीलंकासँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो

श्रीलंकासँगको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्यान्डले जित्यो



काठमाडौं । श्रीलंकासँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला न्युजिल्यान्डले एक खेलअघि नै जितेको छ ।

आज भएको दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १ सय १३ रनले हरायो । न्युजिल्यान्डले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको श्रीलंका ३० ओभर २ बलमा १ सय ४२ रनमा अलआउट भयो । श्रीलंकाका कमिन्दु मेन्डिसले सबैभन्दा धेरै ६४ रन बनाए । न्युजिल्यान्डका विल ओरोर्कीले ३ विकेट लिए ।

यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले निर्धारित ३७ ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ७९, मार्क चापम्यानले ६२ रन बनाए । श्रीलंकाका महीश थीकशनाले ह्याट्रिकसहित ४ विकेट लिए ।

न्युजिल्यान्डले पहिलो खेल ९ विकेटले जितेको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो शनिवार अकल्यान्डमा हुनेछ ।