काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लवबीच खेल भइरहेकाे छ । पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेटकाे क्षतिमा ८५ रन बनाएको छ ।
खराब मौसमका कारण खेल ढिलो शुरु भएको थियो ।
वीरगञ्जको नारायणी रंगशालामा आर्मीले टस जितेर पहिले फिल्डिङ रोजेकाे हाे । पुलिसले पहिलो बलमै ओपनर दिलिप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले अर्धसतक बनाउँदै इनिङ सम्हालेका छन् ।
भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरिसकेका छन् । प्रतियोगितामा उनको यो दोस्रो अर्धसतक हो ।
तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ३९ बलमा २० रन बनाएर आउट भए । क्रिजमा भुर्तेललाई अर्जुन साउदले साथ दिइरहेका छन् । १३ बलको सामना गर्दा अर्जुनको ब्याटबाट रन निस्किएको छैन ।
आर्मीका लागि सोमपाल कामी र सहाब आलमले एक–एक विकेट लिएका छन् । जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ ।
चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल भने दुई दिवसीय संरचनामा भएका थिए ।
प्रतियोगितामा सहभागी चार वटा टोलीले समान तीन खेल खेलेका थिए । पुलिसले खेलेको तीन खेलमध्ये दुईमा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । तीन खेलमा पुलिसले ६६ अंक हासिल गरी शीर्ष स्थान रह्यो । आर्मी तीन खेलमा एउटामा विजयी हुँदा दुई वटा खेल बराबरीमा टुङ्गिएको थियो । ५५ अंकका साथ आर्मी दोस्रो स्थानमा रहेर पुलिससँग फाइनल खेलिरहेको हो । बाग्मती र मधेश प्रदेशले तीन खेलमध्ये एउटा पनि जित्न सकेनन् ।
प्रतिक्रिया