निर्माण क्षेत्रमा टिठ लाग्दो महिला सहभागिता

निर्माण क्षेत्रमा टिठ लाग्दो महिला सहभागिता



महिला र पुरूषबीच सबै क्षेत्र र तहमा समान अवसर पहुँच, सहभागिता नियन्त्रण जस्ता विषयमा समान लाभ हासिल गर्ने अवस्था नै लैङ्गिक समानता हो । यसले महिला र पुरूष बीचको प्राकृतिक भिन्नताका बाबजुद उनीहरू बीचको सामाजिक भिन्नता र भेदभाव हटाउँछ महिला र पुरूषलाई समान अवसर, समान अधिकार समान जिम्मेवरी, समान स्तर, दुवैका समान हैसियत स्थापना गर्नका लागि आवश्यक पर्ने मूल्य मान्यता, दृष्टिकोण र व्यवहारलाई परिवर्तन गरेर समानता हासिल गर्ने पक्ष नै यसका आधारभूत तत्त्वहरू हुन्‌ ।

आजका दिनमा महिलाहरूको सहभागिता विभिन्न विकासका पक्षहरूमा उल्लेख्य वृद्धि भइरहेको अवस्था छ । निर्माण व्यवसायीका रूपमा पनि महिला निर्माण व्यवसायीहरूको भूमिका तथा सहभागिता बढ्दो छ । साथै विकास क्षेत्रको फाइल आउन महिनौ लाग्ने भएकाले स्थानीय क्षेत्रमा व्यवस्था हुनुपर्ने देखिन्छ । यसमा पनि सरकारको ध्यान जान जरुरी छ । बैकबाट ऋण लिएर बैकलाई ब्याज तिरेर सरकारलाई कर तिरेर आफू जोखिममा भएर लाखौलाई रोजगारी दिएर अगाडी बढेका हामी निर्माण ब्यवसायी नै अपहेलित हुनुपरेको छ

विज्ञता, लगानी र प्रतिस्पर्दाका दृष्टिकोणबाट नियाल्दा यो निर्माण व्यवसाय अत्यन्तै संवेदनशील विषय हो । पुरूषहरूको तुलनामा महिलाहरू यस क्षेत्रमा विगतका समयदेखि कम सहमागी भएको र यस क्षेत्रमा पारिवारिक तथा सामाजिक हिसाबले पनि महिलाहरूलाई यस क्षेत्रमा लाग्नका लागि त्यति धेरै हौसलालगायत प्रोत्साहन नहुने विषय हो यो जस कारण न्यून विज्ञता हुन स्वभाभिकै हो ।

लगानीका दृष्टिकोणबाट हेर्दा महिलाहरूको श्रोत र साधनमाथि न्यून पहुँच तथा नियन्त्रण हुने भएकाले आफूनै लगानीमा पनि काम गर्ने कुरामा महिलाहरूको कमजोर परिस्थिति देखिन्छ । विगतका समयदेखि समाज पितृसत्तात्मक महत्त्वका साथ अघि बढी रहेको परिप्रेक्षमा जसरी पुरुषहरूलाई घर बाट बाहिर जतासुकै जान सहज वातावरण छ सो वातावरण महिलालाई पाउन अझै मुस्किल देखिन्छ ।

यसर्थ पुरूषसँग तुलना गरी हेर्दा महिलालाई अझ बढी समस्या र चुनौतीसँग सामाना गर्नुपर्ने अवस्था छ । तथापि हाल महिलाहरू पनि लैंगिक असमानता र विभेदहरुलाई न्यून गर्दै नेपाल सरकारले प्रदान गरेका लैँगिक समानताका अधिकारहरूको प्रयोग गर्दै यस क्षेत्रमा पनि आफूनो स्थान बनाउन थालेका छन्‌ ।

हाल नेपालमा निर्माण व्यवसायमा संलग्न महिलाहरूको संख्या एक हजार ५ सय ६० पुगेको देखिन्छ । जुन प्रतिशतका हिसाबले जम्मा १२ हुन आउँछ ।

महिलाहरूलाई यस क्षेत्रमा आकर्षित गर्नका लागि लैंगिक विभेद न्यून गरी पारिवारिक तथा सामाजिकस्तरबाट घर बाहिर सजिलै आउन सकिने वातावरण हुन जरूरी देखिन्छ । महिलाहरूलाई तालिम अन्तरकृयाहरूको माध्यामबाट सशक्तिकरण गर्दै यस क्षेत्रमा सहभागिता बृद्धि गर्न जरुरी देखिन्छ ।

निर्माण व्यवसायमा सहभागी महिलाहरुले काम गर्दा आफूले भोगेका वास्तविक समस्यालाई बाहिर ल्याई अन्य महिलाहरुलाई यो क्षेत्रमा ढुक्कले लाग्न सक्ने वातावरण सिर्जना गर्न जरूरी देखिन्छ ।

निर्माण व्यवसायमा लाग्ने महिला दिदी बहिनीहरूलाई योभन्दा पनि अझ जोसजाँगर र आत्मनिर्भरताका साथ एकजुट भएर अगाडि बढ्नु हुन मेरो अनुरोध छ । ऐतिहासिक जनअन्दोलन २०६२–०६३ सफलतापछि राज्यका सबै क्षेत्रमा दलित जनजाति पिछडिएका क्षेत्र अपांगता भएका र अशक्तहरूलाई आरक्षणको व्यवस्था भएजस्तै पूर्वाधार विकासमा महिला निर्माण व्यवसायीलाई सकारात्मक विभेदको सिद्धान्तलाई आत्मसात गरी निम्नानुसारको व्यवस्था नेपाल सरकारले गर्न सकेमा अझै महिला निर्माण व्यवसायीहरूको अवस्था सुधार हुने देखिन्छ ।

निर्माण क्षेत्रमा महिला सशक्तिकरणका लागि गर्नुपर्ने
१. बिना क्राइटेरिया ठेक्का हाल्न पाउने अवस्थाका लागि २ करोडको सीमालाई बढाई ५ करोडसम्म पु¥याउने । जुन कोटामा महिला निर्माण व्यवसायीलाई मात्र प्रतिस्पर्धा गराउनु पर्छ ।

२. महिला निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टी समस्या हुनेहुँदा निश्चित समयका लागि १० प्रतिशत धितो जमानीमा बैंक ग्यारेन्टी बन्ने व्यवस्था गरिनु पर्छ ।

३. निर्माण व्यवसायमा प्रयोग हुने मेसिन औजारहरूमा महिला व्यवसायीका हकमा भन्सार रकम न्यून कायम गरिनु पर्छ ।

४. महिला निर्माण व्यवसायीहरूलाई कर्जा सहुलियत हुनुपर्छ । कृषि पशुपालन साना तथा घरेलु उद्योगलाई दिएको ५ करोडसम्मको सहुलियत कर्जा व्यवस्था हुनुपर्छ ।

५. निश्चित अवधिका लागि एकभन्दा बढी ठेक्का निस्केको अवस्थामा ३३ प्रतिशत दरभाउ तथा बोल पत्रहरूमा महिला निर्माण व्यवसायीको सहभागिता सुनिश्चित गरिनु पर्छ कि ! यो प्रतिशत सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था हुनुपर्छ ।

६. पूर्वाधार क्षेत्रको विकासमा ऐन तथा नियमावली निर्माण गर्दा महिला निर्माण व्यवसायीहरूलाई सहभागी गराउनुपर्ने ।

उल्लेखित विषयमा हामी महिला निर्माण व्यवसायीहरू नेपाल सरकारसँग जोडदार माग पनि गर्दछौं । देश विकासमा महिलाहरूको योगदान वृद्धि गरी समृद्ध नेपाल निर्माणमा टेवा पु-याउने वाचा कसम पनि खान चाहन्छौ । आजको युग समता र समानताको युग हो । को भन्दा को कमको युग हो ।

हामी सक्छौ, अघि बढौं, हातेमालो गरौँ ।
शाही नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य, महिला समन्वय समितिको सहसंयोजक र पूर्वाधार व्यवसायी महिला महासंघको अध्यक्ष हुन् ।