काठमाडौं । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी सुप्रसिद्ध कथावाचिका देवी प्रतिभालाई विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमबीच उनलाई विदाई गरिएको हो ।
कार्यक्रममा देवीले १० दिनको कथा वाचन पूरा गरी भक्तजनसँग विदा लिएकी हुन् । महोत्सवभरि उनले भागवत महापुराणको भावपूर्ण व्याख्या गर्दै लाखौं भक्तजनको मन जितेकी थिइन् ।
विदाई समारोहमा देवीले विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेयलाई विशेष रूपमा कथा मञ्चमा स्वागत गरिएको छ । ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छन् ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोतालाई मन्त्रमुग्ध पार्न सफल भएकी छन् ।
उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौं भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ । शुश्री अनुराधा पाण्डेयको कथा वाचन देवघाट महामहोत्सवका प्रमुख आकर्षणमध्ये एक हो । माघ १० गते दिउँसो ३ बजेबाट सुरु भएको उनका प्रवचन सात दिनसम्म चल्नेछन् ।
आयोजकका अनुसार कथा वाचनका लागि तयार पारिएको विशेष पण्डालमा हजारौं भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ । ६ वर्षकै उमेरमा धार्मिक कथा वाचन सुरु गरेकी अनुराधा पाण्डेयको यात्रा अद्वितीय छ ।
विभिन्न धार्मिक महोत्सव र कार्यक्रमहरूमा कथा वाचन गर्दै उनले धर्म, संस्कृति र परम्पराको संवर्द्धनमा विशेष योगदान पुर्याएकी छन् । उनकी विशिष्टता भनेको सानै उमेरमा तीन भाषामा धाराप्रवाह कथा वाचन गर्ने क्षमता हो ।
उनले श्रोताहरूलाई केवल कथा सुन्ने मात्र होइन, धार्मिक र आध्यात्मिक चेतनाको गहिराइमा प्रवेश गराउने अद्वितीय शैली प्रस्तुत गर्छिन् । आयोजकहरूले यो कथा वाचनले समाजमा धार्मिक ज्ञानको विस्तार गर्ने र भक्ति मार्गप्रति सबैको आस्था बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया