मधेसमा आरोप–प्रत्यारोप बन्द गरेर एकजुट हुन मनिष झाको आग्रह

मधेसमा आरोप–प्रत्यारोप बन्द गरेर एकजुट हुन मनिष झाको आग्रह


ग्लोब नेपाल
0
Shares

जनकपुर । मधेसमा आपसी विवाद र आरोप–प्रत्यारोप त्यागेर एकताबद्ध हुन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले आग्रह गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झाले अध्ययन, विचार र राजनीतिक संस्कारमा आधारित अभ्यास आवश्यक रहेको बताए ।

आफ्नै बीचमा विवाद गर्ने र एकअर्कामाथि झुटा आरोप लगाउने प्रवृत्तिले राजनीतिक लक्ष्य हासिल गर्न नसकिने उनको भनाइ थियो । ‘आफ्नै–आफ्नै बीचमा झगडा गर्न थालियो भने, एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने हामी कहीँ पुग्न सक्दैनौँ,’ उनले भने ।

झाले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको पक्षमा माहोल बनाउन एकजुट भएर लाग्न पनि आग्रह गरे । मधेसमा अघिल्लो निर्वाचनमा पार्टीले उल्लेख्य मत पाएको उल्लेख गर्दै उनले त्यसलाई आगामी निर्वाचनमा समेत कायम राख्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा उनले संघीयताबारे पार्टीको धारणा पनि स्पष्ट पारे । रास्वपा संघीयताको विरोधी नभई विद्यमान संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउन चाहने पार्टी भएको उनले बताए ।

प्रदेशसभा र प्रदेश परिषद्को अवधारणामार्फत संघीयतालाई थप मजबुत बनाउनुपर्ने धारणा राख्दै झाले राजनीतिक विवादभन्दा वैचारिक बहस र सुसंस्कृत अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।