नेपालगन्ज । बाँकेमा चिसो अत्यधिक बढेपछि कोहलपुर नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई फेरी तीन दिनका लागि बन्द गरेर जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि फेरी तीन दिनका लागि विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिकाका उपसचिव रामबहादुर हमालले दिएको जानकारी अनुसार चिसो अत्यधिक बढेकोले आइतवार माघ १३ गतेदेखि माघ १५ गतेसम्म सबै विद्यालयमा जाडो बिदा दिइएको हो ।
यसअघि पनि शीतलहर र चिसो बढ्दा गत पुस २६ गतेदेखि २९ गतेसम्म चार दिनका लागि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय बन्द गरिएको थियो । चिसोले बालबालिकाहरु फेरि प्रभावित भएको जानकारी आएकोले यस पटक नगरका सबै विद्यालय तीन दिन बन्द गरिएको उपसचिव हमालले जनाए ।
प्रतिक्रिया