चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता

चितवनको भरतपुर महानगरमा पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता



चितवन । चितवनको भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिएको छ । भरतपुर महानगर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक दुई हजार रुपैयाँका दरले आवासीय भत्ता उपलब्ध गराइएको हो ।

महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गएको आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकोमा चालू आर्थिक वर्षमा १२ महिनाकै भत्ता उपलब्ध गराइनेछ । गएको वर्ष ३३ जना शिक्षकले भत्ता सुविधा पाएका थिए ।

शिक्षा महाशाखाका प्रमुख आचार्यका अनुसार भरतपुर–२९ मा ११ विद्यालय रहेकामध्ये राजमार्गसँगै रहेको कविलास माविबाहेक १० विद्यालयका भाडामा बस्ने शिक्षकलाई यो सुविधा दिइएको हो । भरतपुर–२९ मा दुई वटा माध्यमिक विद्यालय छन् । तीमध्ये कविलासमा पढाउने शिक्षकले भत्ता नपाउने भएपछि एक माध्यमिक विद्यालय र बाँकी आधारभूत विद्यालयका शिक्षकले सुविधा पाउने भएका हुन् ।

महानगरकी मेयर रेनु दाहालले ग्रामीण क्षेत्रमा कोठा भाडामा लिएर पढाउँदै आएका शिक्षकलाई प्रोत्साहन स्वरूप भत्ता दिएको बताइन् । यो सुविधाले पहाडी क्षेत्रमा कार्यरत शिक्षकलाई प्रोत्साहन हुनुका साथै शिक्षामा पनि सुधार हुने उनले विश्वास व्यक्त गरिन् । सुविधा सम्पन्न ठाउँ र पहाडी क्षेत्रमा एउटै सुविधा हुँदा धेरैजसो शिक्षक पहाडी क्षेत्रमा जान नचाहने समस्या पनि समाधान हुने उनको भनाइ छ ।