पाेखरा । पोखराको लोकप्रिय गन्तव्य पाताले छाँगो अर्थात् डेभिज फल्स पोखरा महानगरपालिका आफैंले सञ्चालन गर्ने भएको छ । महानगरपालिकाको आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले डेभिज फल्समा जारी अवरोध हटाई तत्काल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख धनराज आचार्यले डेभिज फल्समा महानगरपालिका आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाउने र महालेखा परीक्षक कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि प्रक्रिया थल्ने निर्णय भएको जानकारी दिए । स्थानीय छोरेपाटन माविले सञ्चालन गर्दै आएको डेभिज फल्स विवादका कारण माघ १ गतेदेखि बन्द छ ।
बैठकको निर्णयमा भनिएको छ, “तत्कालै डेभिज फल्समा लगाएको ताला खोलेर महानगर आफैंले कानुन बमोजिम पर्यटन शुल्क उठाइ डेभिज फल्स सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखाले औँल्याएको बेरुजु फछ्यौटको लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।”
डेभिज फल्समा परियोजना सञ्चालन गर्ने सम्बन्धमा बैठकले सरोकारवाला पक्षबिच छलफल गर्ने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया