अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण शुरू

अन्नपूर्ण आधार शिविरमा पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण शुरू



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पाँच लाख रुपैयाँ बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला सङ्ग्रहालय निर्माण थालिएको हो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए । उनका अनुसार एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो ।

अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ । मानव बस्तीदेखि टाढा, होटल र रेष्टुराँ नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।