अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु

अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु


ग्लोब नेपाल
405
Shares

न्यूयोर्क (अमेरिका) । सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसन अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

संसारका पाँच महादेशमा पर्ने १२ देशका १४ सहरमा तय गरिएका यी अडिसनको सुरुआत अमेरिकाको कोलम्बसबाट जनवरी २५ र २६ मा भएको छ । अमेरिका र क्यानडाका नेपाली गायन तथा नृत्यका प्रतिभा सम्मिलित एक समारोहबीच आयोजक संस्था इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले शुभारम्भ गरेका थिए ।

विश्वभर छरिएर रहेका नेपाली कलाकारबीच प्रतिस्पर्धा गराइने यी दुवै शोका विजेताले रु १ करोड, उपविजेताले रु २५ लाख र तेस्रो हुनेले रु १० लाख पुरस्कार पाउनेछन् । शुभारम्भका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै फाउन्डेसनका अध्यक्ष अधिकारीले संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो मौलिक संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनुपर्ने बताए । उनले नेपालीको अमूल्य संस्कृतिले नै आफूहरुलाई नेपाली बनाएको भन्दै यसलाई जोगाउन विश्वस्तरीय दुई शो सुरु गरिएको जानकारी गराए ।

नेपालीको संस्कृतिलाई गीत, सङ्गीत र नृत्यका माध्यमबाट अर्को पुस्तासम्म पुस्तान्तरण गर्ने, यही माध्यमबाट नेपालीको एकतालाई संसारभर मजबुत पार्ने र जहाँसुकै बसे पनि नेपालीलाई नेपालसँग जोड्ने उद्देश्यले गैरनाफामूलक संस्था फाउन्डेसनले यी शो आयोजना गर्दै आएको पनि उनले जानकारी दिए ।

अमेरिकाबाट सुरु भएको अडिसन युरोपका लन्डन र पोर्चुगल, जापानको टोकियो, चीनको हङकङमा फेब्रुअरी १५ र १६ मा हुँदैछ भने अष्ट्रेलियाको सिड्नीमा फेब्रुअरी २३, थाइल्यान्डको बैङ्कक, युएईको दुबईमा फेबु्रअरी २२ र २३ मा हुने जानकारी पनि दिइयो । त्यसैगरी, कतारको दोहामा फेबु्रअरी २१ मा तथा भारतको मुम्बईमा मार्च १ र २ मा अडिसन हुनेछन् ।

यस्तै भारतको सिलगडीमा मार्च ८ र ९ मा अडिसन सम्पन्न गरेपछि नेपालका विभिन्न चार सहर विर्तामोड, पोखरा, नेपालगञ्ज र काठमाडौँमा अडिसन सम्पन्न गरी संसारभरबाट छानिएका प्रतिभालाई फाउन्डेसनले आफ्नै खर्चमा नेपाल लैजाने र बाँकी प्रतिस्पर्धालाई अघि बढाउने छ । दुवै शो नेपाल टेलिभिजनबाट प्रसारण गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

अमेरिका र क्यानडाका गीत तथा नृत्यका ६० भन्दा बढी प्रतिभाले भाग लिएको सो अडिसनबाट गीततर्फ छ र नृत्यतर्फ पाँचजना छनोट गरिएको छ । अमेरिकाको फिल्ड अडिसनका लागि निर्णायकमा गायनतर्फ वरिष्ठ सङ्गीतकार सुशील विश्वकर्मा, गायकहरु केशव पौडेल, अर्जुन रसाइली र सङ्गीतकार मुस्कान बलम्पाकी मगर तथा नृत्यतर्फ नायक दिलीप रायमाझी, शङ्कर विसी, रुपेश उप्रेती र पार्वती राई छन् ।

कार्यक्रममा अध्यक्ष अधिकारीले फाउन्डेसनको संस्कृति विभागको प्रमुखमा पेन्सिलभेनिया निवासी ओमराज गुरुङलाई नियुक्त गरिएको जानकारी पनि दिए । मेरो डान्स युनिभर्सको अमेरिका अडिसनका दिन इन्ट्रा डान्स स्कुल कोलम्बसका विद्यार्थीले समेत आकर्षक नृत्य देखाएका थिए ।