स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने गरी आँधीखोलामा निर्माण थालिएको पुल सात वर्ष हुनै लाग्दा पनि सम्पन्न हुन सकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी निर्माणाधीन पुलका लागि तेस्रो पटक थपिएको अवधिसमेत सकिएको छ ।
२०७५ साल असार २६ गते सम्झौता भई निर्माण शुरू भएको पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने थियो । सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर दीपक विष्टका अनुसार तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रो पटक २०८१ मङ्सिरमा सक्नेगरी थप भएको समय पनि सकिएको छ ।
भ्याटसहित १४ करोड २६ लाख ३७ हजार रुपैयाँ लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो । पुल एक सय २५ मिटर लम्बाइ र तीन स्पानको हुने इन्जिनियर विष्टले बताए ।
पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । निर्माण व्यवसायी चन्द्र थकालीले पुलको झन्डै ८० प्रतिशत काम सम्पन्न भएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको दाबी गरे ।
प्रतिक्रिया