पर्वत । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो ।
सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप तीन करोड बजेट विनियोजन भएको छ । यसअघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँच करोड १५ लाखमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो ।
जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला–६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन् । अबलगत्तै योजना अघि बढाउने तयारी भएको छ ।
चालु आवभित्रमै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरीले जानकारी दिए । अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आवका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उनले बताए ।
यो सडकको करिब दुई दशकअघि मार्ग खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन् ।
प्रतिक्रिया