पोखरा आज पनि सबैभन्दा धेरै प्रदूषित सहर

पोखरा आज पनि सबैभन्दा धेरै प्रदूषित सहर



काठमाडौं । पोखरा सहर आज पनि सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार मध्याह्न १२ बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १९४ पुगेको वातावरण विभागले जनाएकाे छ ।

बुधबार पनि कास्कीको पोखरा देशकै सर्वाधिक प्रदूषित थियो । बुधबार बिहान ११ः३० बजे पोखराको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’(एक्यूआई) १७९ पुगेको थियो ।

आज दोस्रो प्रदूषित सहरमा चितवनको भरतपुर मापन भएको छ । सोही समयमा भरतपुरको एक्यूआई १६८ पुगेको छ । यस्तै, धनगढीको १५६ र हेटौँडाको १५१ मापन भएको छ ।

स्वास्थ्यका दृष्टिकोणले यी चार सहर अस्वस्थकरको सूचीमा छन् । पोखरामा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०९.६ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानकोे एक्यूआई भने १५० भन्दा कम छ ।

वायुको गुणस्तर मापदण्डानुसार, एक्यूआई ५० सम्मको वायु स्वस्थकर हुन्छ । त्योभन्दा बढी भए अस्वस्थकर हुँदै जान्छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।