कैलाली । कैलालीमा केराको रेसाबाट निर्माण भएका विभिन्न हाते सामग्रीको खपत बढ्दै गएको छ ।
टीकापुर नगरपालिका–८ धनसिहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थाले केराको थामबाट रेसा उत्पादन गरी बनाइएका सामग्रीको माग बढ्दै गएको सहकारीले जनाएको छ ।
एक वर्षअघि स्थापना भएको उद्योगले केराको रेसाबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाइलगायतका सामग्री निर्माण गर्ने गरेको छ ।
सहकारीका व्यवस्थापक रामकृष्ण चौधरीले उद्योगले केराको थाम किसानबाट निःशुल्क ल्याउने र १० वटा थामबाट एक केजी रेसा उत्पादन हुने गरेको बताए । उनले एक केजी रेसाबाट १५ वटासम्म टोपी बनाउन सकिने बताए ।
सहकारीले प्रतिटोपी एक हजार, पेन होल्डर तीन सय रुपैयाँमा बिक्री गर्ने गरेको छ । सहकारीलाई उत्पादित सामग्री बिक्रीका लागि बजारको अभाव छैन ।
सहकारीको उद्योगमा १० जना महिलाले काम गरिरहेका छन । उनीहरूले घर सजावट तथा प्रयोगमा ल्याउन सकिने विभिन्न सामग्री बनाउने गरेका छन् । सरकारले एक सहकारी, एक उद्योगको नीति लिएर उद्योगमार्फत किसान तथा महिलालाई रोजगारीसँग जोड्ने गरेको छ ।
प्रतिक्रिया