काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत अन्तिम साता सकिदैछ । अधिकारी आफ्नो ५ बर्षे कार्यकाल सकेर यही चैत अन्तिम साता विदा हुँदैछन् । २०७६ चैत २४ गते उनले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति पाएका थिए । उनी सत्रौ गभर्नर हुन् ।
गभर्नर अधिकारीको कार्यकाल सकिन अब डेढ महिना मात्रै बाँकी छ । कार्यकाल सकिनुभन्दा एक महिना अघि विदा बस्न सक्ने प्रवधान छ । प्रवधान अनुसार विदामा बसेको खण्डमा गभर्नर अधिकारीले अब दुई साता मात्रै राष्ट्र बैंकको नेतृत्व सम्हाल्ने छन् ।
गभर्नर अधिकारीको अवकाशको दिन गन्ती सुरु भएसँगै अब नेपाल राष्ट्र बैंकको नेतृत्व कसले गर्ला भनेर चासो बढ्न थालेको छ । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था भित्र मात्रै होइन अर्थतन्त्रबारे चासो राख्नेलाई पनि भावी गभर्नरबारे चासो बढ्न थालेको छ ।
राष्ट्र बैंकको १८ औं गभर्नरको नेतृत्व सम्हाल्नको लागि आकांक्षीहरुको लर्को लागेको छ । अहिले सम्म १८ औं गभर्नरका लागि डेपुटी गभर्नर निलम ढुंङगाना, डेपुटी गभर्नर वमबहादुर मिश्र, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्ट, राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, यसबाहेक अन्य पूर्व अर्थसचिवहरु रामेश्वर खनाल, लालशंकर घिमिरे, पूर्व डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, पूर्व कार्यकारी निर्देशक देवकुमार ढकाल, लगानी बोर्डका पूर्व सिईओ सुशील भट्ट बैंकर राजनसिंह भण्डारीलागायत अन्य वाणिज्य बैंकका केही सोईओसहित दर्जनौं आकांक्षी देखिएका छन् ।
भावी गभर्नरका आकंक्षीहरुले शक्ति केन्द्रहरुसँग निकट्ता बढाउन सुरु गरी सकेका छन् । तर वर्तमान सत्ता गठबन्धनका मुख्य दल कांग्रेस एमालेबीच राष्ट्र बैंकको गभर्नर कसको भागमा राख्ने सहमति नभई सकेको स्रोतले जानकारी दिएको छ । एमालेको नेतृत्वमा सरकार रहेको र अर्थमन्त्री समेत एमालेकै रहेकाले गभर्नर पनि एमालेले नै राख्ने धेरैको अनुमान छ । तर यो विषय अहिलेसम्म टुङ्गो भने लागिनसकेको बताइएको छ ।
गभर्नर प्रशासन क्षेत्रमा आकषर्क पद मानिन्छ । सरकारको ढुकुटी रहने, बैंकहरुलाई नियमन गर्ने, नयाँ नोट जारी गर्ने र नोटमा अस्ताक्षर गर्ने भएकाले गभर्नर पद लाई निकै आकर्षक पदको रुपमा लिने गरिन्छ । मुलकको अर्थतन्त्रलाई कुन दिशामा डोर्याउने भनेर निर्णयक भुमिका निर्वाह गर्ने भएकाले नेपालमा मात्रै होइन विश्वमानै केन्द्रीय बैंकको गभर्नर पदप्रतिको आकर्षण उत्तिकै छ ।
प्रतिक्रिया