पर्वत । कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित २०७१ मङ्सिरदेखि निर्माण थालिएको पुल ठेकेदारको लापरवाहीका कारण बन्न नसकेको हो ।
पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको काम १० प्रतिशत पनि भएको छैन । खोलाको एकातिर पुलको केही संरचना तयार भएपनि अन्य काम हुन नसकेको हो ।
छ करोड १३ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको थियो । अहिलेसम्म एक करोड ५० लाख भुक्तानी गरिएको छ । पुल २९ महिनामा सम्पन्न गर्नेगरी सञ्जीवनी निर्माण कम्पनीले जिम्मा लिएको थियो ।
सडक डिभिजन कार्यालय बागलुङले ठेक्का सम्झौता गरेको आयोजनाको अहिले सडक डिभिजन कार्यालय पोखराले जिम्मेवारी लिएको छ । निर्माण कार्य थाल्न जनप्रतिनिधिले पटकपटक दबाब दिँदै आएका छन् । तर पुल निर्माणले गति लिएको छैन ।
सडक डिभिजन कार्यालय पोखराले पुनः असार मसान्तसम्मको म्याद थप गरेर निर्माण व्यावसायीलाई निर्माणस्थलमा खटाएको छ । अहिले पुल निर्माणको काम भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर धु्रव पोखरेलले जानकारी दिए । निर्धारित समयमै सम्पन्न गर्न निर्माण व्यावसायीलाई निर्देशनसमेत दिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया