काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका अध्यक्षले कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न ‘गर या मर’ को मानसिकता अपनाउनुपर्ने बताएका छन् ।
दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले अमेरिकी प्रविधि कम्पनी एनभिडियाको आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेको एएफपीले जनाएको छ । सामसङको प्रतिद्वन्द्वी एसके हाइनिक्स ‘एआई ग्राफिक्स प्रोसेसिङ्ग युनिट’ (जीपीयू) का लागि ‘हाई ब्यान्डविथ मेमोरी’ (एचबीएम) चिप्सका लागि अमेरिकी प्रविधि कम्पनी एनभिडियाको मुख्य आपूर्तिकर्ता बनेको एएफपीले जनाएको छ ।
विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनी सामसङले आफूले ‘सङ्कट’ को सामना गरिरहेको गएको वर्षको अक्टोबरमा नै स्वीकार गरिसकेको थियो ।
सामसङले ‘गर या मर’ अवस्थाको सामना गरिरहेको र यसबारेमा गम्भीर भएर सोच्न आवश्यक रहेको कम्पनीका अध्यक्ष ली जे–योङले बताएको दक्षिण कोरियाली समाचार संस्था योनहापलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
सामसङका अध्यक्षले अल्पकालीन नाफालाई त्याग्नु परे पनि भविष्यका लागि लगानी गर्नुपर्ने बताएका छन् । अनुसन्धानमा भएको खर्चका कारण सामसङको सञ्चालन मुनाफा गएको वर्षको चौथो त्रैमासिकमा झन्डै एक तिहाइले घटेको थियो ।
सन् २०१५ मा विवादास्पद मर्जरसँग सम्बन्धित आरोपबाट सामसङका अध्यक्ष लीले गएको महिना सफाइ पाएका थिए ।
प्रतिक्रिया