काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिए । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ गराएका हुन् ।
शपथलगत्तै पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री यादवले सबै दललाई समेटेर सम्मलित सरकार बनाउने बताए।उनले संवैधानिक व्यवस्थाअनुसार नै विश्वासको मत लिने र सबै दललाई समेटने दाबी गरे ।
यादव नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशको सातौं मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी दोस्रोपटक मधेशको मुख्यमन्त्री बनेका हुन् । प्रदेश प्रमुख कर्णले शनिबार यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि आह्वान गरिएकोमा कसैको दावी नपुगेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सर्वदलीय सरकार गठन गर्ने दाबी गरे पनि आइतबार मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेताहरू सहभागी भएनन् । यी तीन दलमध्ये कुनैले पनि समर्थन नगरेमा यादवले विश्वासको मत पाउने सम्भावना शून्य हुन्छ । किनकि जसपासँग २७ सिट मात्र छ । सिके राउतको जनमत पार्टीसँग १२ सिट छ । सिके राउतले चुनावसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन् ।
यदि जनमतले यादवलाई विश्वासको मत दियो भने पनि ३९ मत हुन्छ । एक सिघ संघीय समाजवादी पार्टीको छ । त्यो जोड्दा ४० मत पुग्छ । बहुमत पाउन ५३ मत आवश्यक पर्छ । मधेश प्रदेश सभामा एमालेको २४, कांग्रेसको २२ र नेकपाको १५ सिट छ । त्यसैले यी तीन दलमध्ये एउटा पनि दलले यादवलाई विश्वासको मत नदिएमा सरकार ढल्छ । त्यसपछि संसद् विघटन हुने नेताहरूको भनाइ छ । जसपा नेपाल भने आफ्नो पार्टी नेतृत्वको सरकार चुनावी सरकार बन्ने भन्दै खुसी देखिएको छ ।


प्रतिक्रिया