गोरखा । गोरखालाई चीनको तिब्बतसँग जोड्ने उद्देश्यले नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट–आरुघाट लार्के सडकको अहिलेसम्म ४२ किलोमिटरमा ट्र्याक (मार्ग) खुलेको छ ।
नेपाली सेनाको सडक निर्माण कार्यदलका सेनानी पूर्णचन्द्र ढकालका अनुसार नेपाली सेनाले मार्ग खुलाएको ४२ किलोमिटरमध्ये ३६ किलोमिटरसम्म गाडी चल्न थालेको छ ।
चुमनुब्री गाउँपालिका–३ पेवासम्म मार्ग खनिएकोमा पाङसिङसम्म गाडी पुगेको छ । मार्ग खनेपछि बाटो सफा नगरेकाले बाँकी सात किलोमिटर खण्डमा गाडी चलाउन नसकिएको उनले बताए ।
बेनीघाट, आरुघाट, लार्के सडकको एक सय ५४ किलोमिटरमध्ये हावाडाँडाबाट ९२ किलोमिटर सडकको काम नेपाली सेनाले गरेको हो ।
ठूला पहरा र कडा चट्टान भएकाले विस्फोटनको काम गर्न सडक विभागले यो खण्डको काम गर्ने जिम्मा सेनालाई दिएको हो ।
चीनको सीमा लार्के भन्ज्याङसम्मको एक सय ५४ किलोमिटर खण्डमध्ये बेनीघाटबाट हावाडाँडासम्मको ६२ किलोमिटरसम्मको काम भने गोरखा सडक योजना कार्यालयले गरेको हो ।
सेनाले मार्ग खोलेर गाडी चल्न सक्ने बनाएको दोभानसम्मको खण्ड पनि गोरखा सडक योजना कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बेनीघाटबाट आरुघाट हुँदै आर्खेतसम्म सडक निर्माणको काम आर्थिक वर्ष २०६६/६७ मा शुरू भएको थियो । तर हावाडाँडाबाट एक किलोमिटर क्षेत्र कडा चटानयुक्त भीर रहेकाले पाँच वर्षसम्म ट्र्याक खोल्ने काम अगाडि बढ्न सकेन । २०७४ वैशाखदेखि नेपाली सेनाले काम थालेको हो ।
यो सडक धार्चे गाउँपालिकाको लापुबेँसी, माछाखोला, जगत हुँदै चुमनब्री गाउँपालिकाको सिर्दिबस, बिही, प्रोक, सामागाउँ, साम्दो हुँदै चीनको सीमा लार्केभञ्ज्याङ जोडिने छ ।
प्रतिक्रिया