सुशासन र सामाजिक न्यायमा सरकार तदारूकताका साथ लाग्न आवश्यक : राष्ट्रपति

सुशासन र सामाजिक न्यायमा सरकार तदारूकताका साथ लाग्न आवश्यक : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माणमा सरकार तदारूकताका साथ लाग्न आवश्यक भएको बताएका छन् ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपतिसमक्ष बुझाएपछि कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले समृद्धिको उद्देश्य प्राप्त गर्न सरकार लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, ‘उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त हुन्छ ।’

राष्ट्रपति पौडेलले नेपालको संविधानको मुलभूत मर्म र भावना एवं राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानु पर्ने उल्लेख गरे ।

उनले आगामी दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुसारका काम कारवाही क्रमिक र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्‍वास लिएको बताए ।