ओखलढुंगा । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायापालिका विवादहरुको चाङ लगाउनुपर्ने, तर स्वयम् आफू निर्विवाद हुनुपर्ने चुनौति सदैव रहने बताएका छन् । सोमबार नवनिर्मित ओखलढुंगा जिल्ला अदालतको भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश राउतले यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रधानन्यायाधीश राउतले भने, ‘भौतिक विकास न्यायलयको साधन मात्र हुन्, वास्तविक न्यायको अनुभूति त निष्पक्ष कार्य सम्पादन, व्यवसायिक कार्यशैली र इमान्दारितापूर्ण व्यवहार प्रदर्शित हुनुपर्छ ।’ विशाल भवन फैलिएझै हामीले आफ्नो शाखको गरिमा उच्चो पार्दै न्यायपालिको शिर ठडिएको छ भन्ने आभास दिन अपरिहार्य रहेको उनले बताए ।

‘विवादहरुको विवादरहित निरुपण गर्नुपर्ने कार्यमा प्रमुख दुई तत्व अपरिहार्य हुन्छ भन्ने कुरा मनन् गर्न प्रधानन्यायाधीश राउतले न्यायकर्मीसँग आग्रह गरे । उनले भने, ‘पहिलो कुरा न्यायिक जनशक्तिको सक्षमता हो । योग्यता, अनुभव, व्यवसायिकता र कार्य क्षमता अन्त्यन्त आवश्यक पर्छ । दोस्रो इमान्दिारिता हो । न्यायप्रतिको निष्ठा, समर्पण र निर्विवाद छवी अपरिहार्य मानिन्छ ।’
२०७९ साल असार २९ गते पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शिलन्यास गरेको उक्त भवन उद्घाटन समारोहमा ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामहरि खतिवडाले झोलीका देवता वर्तमान प्रधानन्यायाधीश राउतलाई नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर प्राप्त भएको बताए । यो अदालतले ओखलढुंगा, सोलुखुम्बु र खोटाङवासी लाभान्वित हुने उनको भनाइ थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘जनताको आस्था र भरोसाको केन्द्रविन्दू न्यायापालिका हो । भवनमात्र भव्य नहोस्, यहाँ न्याय खोज्न आउने मानिसहरु भवन जति सुन्दर छ, त्यत्ति नै सुन्दर न्याय पाएर यहाँबाट बाहिरिन पाउन् भन्ने शुभकामना दिन चाहन्छु ।’ उनले थपे, ‘यो न्यायालय उदाहरणीय बन्न सकोस् ।’
‘हिजो सिद्धिचरण, ब्याकुल माइला र बलबहादुर राईले चिनाएको ओखलढुंगा, अझ प्रजातन्त्रको जननी भनेर चिनिएको ओखलढुंगा अब न्याय पाइने जिल्ला भनेर चिनियोस्’ सांसद खतिवडाले भने, ‘कसैले खोट लगाउन नसकेका प्रधानन्यायाधीश राउतले उद्घाटन गरेको न्यायापालिका पनि त्यस्तै सुन्दर बनोस्, म उहाँलाई शुभकामना दिन चाहन्छु ।’

२०७९ असार १९ गते ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भएको ३२ महिनामा भवनको निर्माण कार्य सम्पन्न भएको छ । एसकेआई स्लेट चन्द्रज्योति जेभीले मूल्य अधिवृद्धि कर बाहेक १९ करोड ६४ लाख १८ हजार ३२८ रुपियाँ चार पैसा लागतमा उक्त भवन निर्माण गरेको हो । ओखलढुङ्गा सदरमुकामको गोरुमारे भञ्ज्याङ नजिकै सिद्धिचरण नगरपालिका–११ मा अदालतको भवन बनेको छ ।
अदालतको लागि सुविधा सम्पन्न मुख्य कार्यालयसँगै इजलास, न्यायाधीश, कर्मचारी र सुरक्षाकर्मीका लागि आवास गृहको व्यवस्था छ । अदालतको मुख्य भवन पाँचतले र पक्की बनाइएको छ । सुविधा सम्पन्न आवास गृह, लिफ्टिङ, प्रतिक्षालय, खानेपानी, शौचालयका व्यवस्थालगायत अपाङ्गता मैत्री भवन रहेको छ ।

प्रतिक्रिया