रुम्जाटार विमानस्थल र रामहरि खतिवडाको प्रयत्न

रुम्जाटार विमानस्थल र रामहरि खतिवडाको प्रयत्न

जहाजले यात्रु पाएनन्, ०७३ सालदेखि रुम्जाटार विमानस्थलमा जहाज आउनै छोड्यो



ओखलढुंगाको रुम्जाटारमा विमानस्थल बनाउने भनेर विसं २०१९ मा सर्भे भयो । २०२६ देखि पिलाटस पोर्टर जहाजले अवतरण सुरु गरेपनि नियमित उडान भने २०३१ बाट भएको थियो । आरोहण दलका सामाग्री ढुवानीका लागि पिलाटस पोर्टर नेपाल ल्याइएको थियो । एउटा मात्र इन्जिन भएको यो जहाजले ७ जना यात्रु बोक्थ्यो । पछि १९ सिट भएको ट्विन-अटर विमानले उडान गर्न थाल्यो ।

रुम्जाटार विमानस्थल पूर्वी पहाडी जिल्लाको सुरक्षित विमानस्थलको रुपमा परिचित छ । कुनै बेला नेपाल वायुसेवा निगम र निजी हवाई कम्पनीहरु रुम्जाटार फ्लाइट गर्न प्रतिस्पर्धा नै गर्थे । दिनमै चार पाँच वटासम्म उडान हुने व्यस्त विमानस्थल थियो । काठमाडौं–रुम्जाटार मात्र नभएर विराटनगर–रुम्जाटार समेत उडान हुन्थ्यो । यो क्रम २०७३ सालसम्म चल्यो । त्यसपछि यात्रु अभाव भएको कारण देखाएर सबै एयरलाइन्सहरुले रुम्जाटार उडान बन्द गरे ।

२०७१ मै धावनमार्ग कालोपत्रे भइसकेको थियो । सरकारले करोडौं खर्च गरेर विमानस्थलको भौतिक पूर्वाधार निर्माण पनि गर्‍यो । नयाँ टर्मिनल भवन बन्यो तर त्यहाँबाट यात्रा गर्ने यात्रु भएनन् । खोटाङ र सोलुखुम्बुतिर उडान भरेका जहाजमा समस्या आए वा मौसम खराब भए आपतकालीन अवतरण गर्ने स्थान मात्र बन्यो । वर्षौँसम्म जिल्लावासीले माग गरेर भएको धावनमार्गको कालोपत्रे र बनेको टर्मिनल भवनको सदुपयोग भएन ।

रुम्जाटार विमानस्थल चकाचक चल्दा ओखलढुंगाबाट काठमाडौं वा पूर्वी तराईका जिल्ला जाने सुविधायुक्त माध्यम त्यही एउटा हवाईयात्रा मात्र थियो । सडकमार्गले ओखलढुंगालाई छोएकै थिएन । हवाईयात्रा गर्न नसक्नेहरु उदयपुरको कटारीसम्म हिडेर जान्थे । कटारीबाट बस चढेर काठमाडौं पुग्थे । कटारी हुँदै राजधानी पुग्न ३ दिन लाग्थ्यो । २०५० सालमै कटारी–ओखलढुंगा सडक शिलान्यास भएको थियो तर पूरा हुन दश वर्षभन्दा बढी समय लाग्यो ।

जब २०७० सालतिर मध्यपहाडी राजमार्गअन्तर्गत घुर्मि–खुर्कोट बाटो खुल्यो र २०७२ मा सुनकोसीमा पक्की पुल बन्यो, यात्रुहरुलाई काठमाडौं पुग्ने बाटो छोटो भयो । घरबाटै गाडी चढेर सात आठ घण्टामा काठमाडौं आइपुग्ने सुविधा भएपछि यात्रुहरु सडकमार्गतिर आकर्षित भए । सस्तो भाडा र मनग्य सामान लिएर यात्रा गर्न पाएपछि यात्रुहरुले हवाईयात्रा गर्न छाडे । जहाजले यात्रु पाएनन्, ०७३ सालदेखि रुम्जाटार विमानस्थलमा जहाज आउनै छोड्यो ।

२०७४ सालमा देशमा आमनिर्वाचन भयो । संघदेखि प्रदेशसम्मका उम्मेदवारले रुम्जाटार विमानस्थलमा नियमित उडान गराउने एउटा मुख्य चुनावी बाचा गरेर भोट मागे । संघमा नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार र प्रदेशमा रुम्जाटारकै अम्बिरबाबु गुरुङ निर्वाचित भए । सिद्धिचरण नगरपालिका–४ मा पर्ने यो विमानस्थलमा नियमित उडान गराउँछु भनेर निर्वाचित भएका मेयर एमालेकै मोहन श्रेष्ठदेखि प्रदेश सांसद गुरुङ र संघीय सांसद सुनुवारसम्मले अवरुद्ध विमानस्थल खुलाउन सकेनन् ।

पाँच वर्षीय कार्यकालभरि संघ र प्रदेश माननीयहरुले अवरुद्ध विमानस्थल खुल्ने आश्वासन दिइरहे तर कुनै एयरलाइन्सललाई उडान गर्न मनाउन सकेनन् । बरु जिल्लावासीको आँखामा छारो हाल्न विमानस्थललाई पूर्वी पहाडको हवाई इन्धन केन्द्र बनाउने विषयमा अध्ययन भइरहेकोसम्म भन्न भ्याए । आफ्नै पार्टीको शक्तिशाली सरकार भएको बेला कम्तिमा नेपाल वायुसेवा निगमको एउटा फ्लाइट राख्न नसक्नेले हवाई इन्धन केन्द्र बनाउने कुरा त धेरै टाढा थियो । माननीयहरुको पाँच वर्षको कार्यकाल बित्यो तर ओखलढुंगावासीले रुम्जाटारमा फेरि जहाज अवतरण गरेको हेर्न पाएनन् । जिल्लाको एक मात्र विमानस्थल थला पर्‍यो ।

ओखलढुंगामा रामहरि खतिवडाको पुनरागमन र विमानस्थल संचालन गर्ने हुटहुटी

२०७९ मा आमनिर्वाचन हुने भयो । अघिल्ला चुनावमा जस्तै यसपटक पनि संघीय सांसद पदका लागि नेपाली काँग्रेसबाट रामहरि खतिवडा उम्मेदवार थिए । एकदिन रुम्जाटार विमानस्थल नजिकै बनाएको चुनावी सभाको मन्चमा उक्लिएर खतिवडाले बाचा गरे, ‘मेरो कार्यकालमा म यो अवरुद्ध विमानस्थल संचालन गरेरै छोड्छु ।’ ओखलढुंगावासीले भोट दिए, रामहरि खतिवडा दोस्रो पटक सांसद बने ।

निर्वाचित भएको केहि समयपछि नै रुम्जाटार विमानस्थलमा नियमित उडान गराउन सांसद खतिवडाले पहल थाले । तर राजनीतिक समीकरण फेरबदल हुने र नागरिक उड्डयान मन्त्री परिवर्तन हुने सिलसिलाले उनको पहल कार्यान्वयन हुन सकिरहेको थिएन । एकदिन गफैगफमा सांसद खतिवडाले भने, ‘मन्त्रीलाई भेटेर फ्लाइट राख्न दबाब दिएर फर्कियो अर्कोतिरका साथीहरु गएर भाड्ने रहेछन् । जिल्लालाई पुग्ने सुविधामा त राजनीति नगरिदिए हुन्थ्यो ।’

तैपनि उनले कोशिश जारी राखिरहेका थिए । गत असारमा कांग्रेस र एमाले मिलेर सरकार बन्यो । नागरिक उड्डयन मन्त्री भए बद्री पाण्डे । रुम्जाटार विमानस्थल सुचारु गर्न मन्त्री पाण्डेलाई खतिवडाले दबाब दिन थाले । गत असोजको पहिलो हप्ता देशव्यापी रुपमा बाढीपहिरोले सडक अबरुद्ध भयो । विपी राजमार्ग बगाएपछि काठमाडौंसँग ओखलढुंगाको सडक सम्पर्क टुट्यो । नजिकिदै गरेको दशैं, तिहार जस्ता ठूला चाडपर्व मान्न गाउँ जानेहरुलाई हवाई मार्गबाट ओखलढुंगा पुर्‍याउने हुटहुटी सांसद खतिवडालाई जाग्यो ।

मन्त्री पाण्डेलाई दबाब दिन फेरि मन्त्रीकै कार्यकक्ष पुगे खतिवडा । निजी हवाई कम्पनीहरुलाई उडान गर्न आग्रह गर्न कम्पनीको कार्यालय धाए । अन्ततः चाडपर्वको मुखमा नेपाल वायुसेवा निगम र समिट एयरले रुम्जाटार विमानस्थलमा नियमित उडान भर्ने निर्णय गरे । केहि बिरामी र बृद्धबृद्धा लिएर समिट एयरको पहिलो फ्लाइटमा सांसद खतिवडा आफैँ रुम्जाटार विमानस्थलमा ओर्लिए ।

झन्डै पाँच वर्षपछि काठमाडौं–रुम्जाटार हवाई सेवा पुनः सुरु भयो । काठमाडौंबाट रुम्जाटार पुग्न ३० मिनेट र रुम्जाटारबाट काठमाडौं आइपुग्न २५ मिनेट लाग्छ । सातामा दुईदिन उडान हुने काठमाडौं–रुम्जाटारको भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय कायम गरियो । नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरणले समिट एयर र नेपाल एयरलाइन्सलाई अनुमति दियो । प्राधिकरणले भन्यो, ‘यो विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्ने तयारी स्वरुप उडान पुनः सञ्चालन गरिएको हो ।’

गत असोज २० गतेबाट प्रत्येक आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले रुम्जाटार उडान भर्ने तालिका सार्वजनिक भयो । केहि समय नियमित उडान भयो तर फेरि जहाजले यात्रु पाएन । बाढीले बगाएको विपी राजमार्गमा वैकल्पिक बाटो खुलिसकेको थियो । यात्रुहरुले सडक मार्ग नै रोज्न थाले । १९ जनाको सिट भएको ट्विन-अटर जहाजमा पाँच सात जना यात्रु पुग्न पनि मुस्किल हुन थालेपछि एयरलाइन्सहरुले उडान गर्न सकेनन् ।

नियमित उडान फेरि अवरुद्ध भयो । रामहरि खतिवडाको पहलमा विमानस्थलमा नियमित उडान भएमा जनमत खतिवडातर्फ जाने डर पालेर बसेकाहरु खुशी भए । त्यो खुशी चिया पसल, चोक चौतारादेखि सामाजिक सञ्जालसम्म पोखियो । सांसद खतिवडालाई खिसीटिउरी गर्ने जमात ठूलै देखियो । तर, खतिवडा आफ्नो कर्तव्यबाट पछि हटेनन्, फेरि पहल गरेर नेपाल वायुसेवा निगमको नियमित उडान राख्न सफल भएका छन् ।

रुम्जाटार विमानस्थलमा नियमित उडान हुन नसक्नुको प्रमुख कारण जहाजले यात्रु नपाएर हो । व्यवसायिक उडानमा फाइदा नहुने हो भने एयरलाइन्सहरुले फ्लाइट राख्दैनन् । उसै पनि नेपालका विमान कम्पनीहरु सँग सीमित जहाज छन् । जहाँ बढी प्यासेन्जर छन्, जहाँ फाइदा हुन्छ, त्यहीँ विमान पठाउँछन् ।

काठमाडौंबाट ओखलढुंगा नजिकको दूरीमै छ । सडक सुविधा घरघरै पुगेकोले आफ्नै आँगनबाट गाडी चडेर यात्रा गर्ने बानी ओखलढुंगावासीलाई परिसकेको छ । घरबाट रुम्जाटार विमानस्थल पुग्न, मंहगो भाडा तिर्न, १५/२० केजी भन्दा बढी सामान लैजान नपाएपछि किन जहाज चड्ने ? धेरैको भनाई यस्तै सुनिन्छ । यात्रुहरुले नै जहाज चड्न छोडेपछि नियमति उडान गराउन सांसद खतिवडाले जति नै पहल गरे पनि पनि केहि लाग्दैन ।

रुम्जाटार विमानस्थलमा उडान नहुँदा सबभन्दा बढी मार बिरामी र बृद्धबृद्धालाई पर्छ । जिल्लास्थित दूई ठूला अस्पतालबाट काठमाडौं रिफर गरेका बिरामी लैजान लाखौं खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था कमजोर हुनेहरुले हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था हुँदैन । कम्तिमा हप्ताको दूई दिन भएपनि उडान तालिका राखेर रुम्जाटार विमानस्थल सूचारु हुन जरुरी छ ।