भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत

भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशत



सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको प्रगति ८३ प्रतिशतभन्दा बढी भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियामा सिँचाइ पुर्‍याउने लक्ष्यका साथ निर्माण भइरहेको यो आयोजनाको प्रगति अहिले ८३ दशमलव ७ प्रतिशत पुगेको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–११ चिप्लेकाे भेरी नदीमा बाँध बाँधेर १२ दशमलव २ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानाको बबई नदीमा खसाल्न लागिएको छ ।

४६ मेगावाट विद्युत् उत्पादनसहित बाँके र बर्दियाको झन्डै ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्‍याउने यसको लक्ष्य छ ।

आयोजनाका सूचना अधिकारी पवन अधिकारीका अनुसार ६ दशमलव ५३ हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा छ ।

स्थानीयवासीले पटक–पटक अवरोध गर्दा आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ । छुट भएका ऐलानी जग्गा तथा ती जग्गामा निर्मित संरचनाको क्षतिपूर्तिका सम्बन्धमा स्थानीयवासीबाट आयोजनामा निवेदन पेश भई प्रक्रिया अघि बढेको छ ।

ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव रहनाका साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको अधिकारीले बताउनुभयो ।

सरकारले आर्थिक वर्ष २०६८/६९ देखि शुरू गर्ने भनेको आयोजना २०७१/७२ मा मात्र शुरू भएको थियो ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर तोकिएको मितिभन्दा एक वर्षअघि नै सुरुङ छिचोलिएको चर्चा कमाएको आयोजनाको दोस्रो चरणको काम भने मन्द गतिमा चलिरहेको छ ।