अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए नेपाली सामानमा १० प्रतिशत कर

अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए नेपाली सामानमा १० प्रतिशत कर



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ आयात शुल्क अनुसार नेपाली सामानमा पनि १० प्रतिशत कर लाग्ने भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक सय ८५ वटा देशका लागि घोषणा गरेको ‘रेसिप्रोकल’ अर्थात् पारस्परिक भन्सार दर अनुसार नेपाली सामानमा १० प्रतिशत कर लाग्ने भएको हो । ट्रम्पले अमेरिका भित्रिने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेकाे हो । यसलाई उनले अमेरिकी ‘व्यापार जगत्’ को ‘स्वतन्त्रता दिवस’ भनेका छन् ।

यस घोषणाले अमेरिकाका दुई निकट व्यापार साझेदार मेक्सिको र क्यानडाका लागि तत्कालका लागि केही परिवर्तन हुने छैन । तर अन्य साझेदारहरूले भने नयाँ करको सामना गर्नुपर्नेछ ।

नयाँ कर अनुसार बेलायतका लागि १० र युरोपेली सङ्घ (ईयू) का लागि २० प्रतिशत समावेश छ । यस्तै चीनबाट आउने सामानहरूमा लाग्ने अमेरिकी आयात शुल्क ३४ प्रतिशतले बढ्ने छ जुन अहिले नै २० प्रतिशत रहेकाले त्यसमा थप हुँदा त्यो कुल शुल्कका रूपमा ५४ प्रतिशत पुग्ने छ । जापानबाट आउने सामानहरूमा २४ र भारतबाट आउने सामानहरूमा २६ प्रतिशत भन्सार शुल्क लाग्ने छ । भियतनाम र कम्बोडियाबाट आउने सामानहरूमा क्रमशः ४६ र ४९ प्रतिशत आयात शुल्क लाग्ने छ ।

यस्तै कैयौं साना देश पनि उच्च आयात शुल्कको मारमा पर्नेछन् । जसमा दक्षिणी अफ्रिकी देश लेसोथोका उत्पादनहरूले ५० प्रतिशत आयात शुल्कको सामना गर्नुपर्ने छ ।

राष्ट्रपति ट्रम्पको घोषणा अनुसार १० प्रतिशत शुल्क अप्रिल ५ देखि र अन्य शुल्क अप्रिल ९ देखि शुरू हुनेछ ।

नेपालको छिमेकी भारतलाई यस्तो भन्सार दर २६ प्रतिशतका दरले लगाइएको छ भने बंगलादेशलाई ३७ प्रतिशत छ । त्यस्तै श्रीलंका ४४, कम्बोडिया ४९, लाओस ४८, भियतनाम ४६, चीन ३४ र पाकिस्तानलाई २९ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा छ ।