अमेरिका । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक पूर्व प्राध्यापक पुरुषोत्तम दाहाललाई अमेरिकामा सम्मान गरिएको छ । ६ महिना लामो अमेरिका बसाईपछि आईतवार स्वदेश फर्कन लाग्नु भएका रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचारका संस्थापक सन्चालक समेत रहनु भएका दाहाललाई शनिवार भर्जिनियामा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
हालै गठित अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले महासंघको तर्फबाट सम्मान पत्र र खादा ओढाएर दाहालको सम्मान गर्नु भएको थियो । यसैगरी कान्तिपुर दैनिकका संस्थापक सम्पादक एवम् सोही महासंघका सल्लाहकार वरिष्ठ पत्रकार योगेश उपाध्यायले माला पहिर्याएर दाहाललाई सम्मान गर्नु भएको थियो ।

रेडियो र छापा पत्रकारिता, प्राध्यापनदेखि समाज सेवा र लेखन तथा साहित्य क्षेत्रमा योगदान दिएवापत महासंघले दाहाललाई सम्मान गरेको अध्यक्ष खनालले जानकारी दिनु भएको छ । दाहाल सो महासंघका सल्लाहकार समेत हुनुहुन्छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार योगेश उपाध्याय, वरिष्ठ साहित्यकार वसन्त श्रेष्ठ र महासंघका अध्यक्ष खनालले सम्मानित व्यक्तित्व दाहालको साहित्य लेखन, प्राध्यापन र पत्रकारिताका विविध पक्षका बारे चर्चा गर्नु भएको थियो ।
यसैगरी दाहालमार्फत पत्रकारिता सिक्दै रेडियो नेपालको परिवेश कार्यक्रममा २०५८/५९ मा सन्चालन समूहमा रहेर काम गरेका, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्व अध्यक्ष एवम् यस ग्लोब नेपाल डटकमका संस्थापक सम्पादक गौतम दाहालले वरिष्ठ पत्रकार दाहालको पत्रकारिता र साहित्यिक लेखन र कृतिका बारे छोटो जानकारी गराउनु भएको थियो ।

सोही क्रममा सम्मानित वरिष्ठ पत्रकार दाहालले आफ्नो साहित्यिक लेखन र पत्रकारिताका बारे संक्षिप्त प्रकाश पार्नु भएको थियो । आफु स्वतन्त्रताका पक्षमा निरन्तर लागिरहने भन्दै उहाँले विदेशमा बसेका नेपालीहरुलाई जन्मभूमिको लागि आर्थिक, अन्य बौद्धिक एवम् विदेशमा आर्जन गरेको सीप र ज्ञानको योगदान गर्न आग्रह गर्नुभयो ।
आफ्ना कृतिहरुका बारे बोल्दै उहाँले भन्नुभयो- ‘मेरो पत्रकारिता’ मेरो समयको ऐना हो भने ४५ दिन लगाएर लेखेको ‘शान्ता’ उपन्यास मैले रगतको आँशु पिएर लेखेको कृति हो ।’

कार्यक्रममा भर्जिनिया वरपर रहेका प्रतिनिधि नेपालीहरुको उपस्थिति थियो भने सहभागीहरुलाई सर्जक दाहालको पछिल्लो उपन्यास ‘शान्ता’ को अंग्रेजी संस्करण उहाँकै हस्ताक्षरसहित वितरण गरिएको थियो ।
दाहाल र उहाँकी धर्मपत्नी शान्ता दाहाल आईतवार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





प्रतिक्रिया