सामान्य वर्षा भएपछि काठमाडौंवासीलाई केही राहत

सामान्य वर्षा भएपछि काठमाडौंवासीलाई केही राहत



काठमाडौं । बुधवार दिउँसो काठमाडौं सहितका जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, मकवानपुर, सल्यान, दाङ, खोटाङ, लमजुङ, पाल्पा र सल्यानमा लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सामान्य वर्षा भएपछि वायु प्रदूषणले आहत भएका काठमाडौंवासीलाई केही हदसम्म राहत भएको छ । बुधबार दिउँसो काठमाडाैं उपत्यकामा हल्का वर्षा हुँदा वायु प्रदूषण केही हटेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार अपराह्न काठमाडौंको साँखु, मूलपानी, पेप्सीकोला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार बंगालको खाडीबाट आएको वायु र स्थानीय वायुबाट बनेको प्रणालीले हल्का वर्षा भएको हो ।

निरन्तर निकै खराब अवस्थामा रहेको काठमाडाैंको वायुमा वर्षा भएपछि सामान्य सुधार देखिएको छ । अहिले काठमाडौंको एक्यूआई १८३ छ । यसअघि काठमाडौंको वायु प्रदूषण २७७ एक्यूआईसम्म पुगेको थियो ।