अधिकतम खुद्रा मूल्य (एमआरपी) नराख्ने चार तार उद्योगको कारोबार रोक्का

अधिकतम खुद्रा मूल्य (एमआरपी) नराख्ने चार तार उद्योगको कारोबार रोक्का



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) नराख्ने चार तार उद्योगको कारोबार रोक्का गरेको छ ।

विभागले हिजो गरेको अनुगमनका क्रममा चार तार उद्योगले एमआरपी नराखेको भन्दै उनीहरुको कारोबार रोक्का गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चैत महिनामा एक सय ५० उद्योगको अनुगमन गर्ने क्रममा २० वटाभन्दा बढीको कारोबार रोक्का गरिएको छ ।

हिजोको अनुगमनका क्रममा कारोबार रोक्का गरिएका उद्योगमा जनता केवल इन्डस्ट्री प्रालि, युनाइटेड वायर एण्ड केवल इन्डस्ट्री प्रालि, प्राइम केवल इन्डस्ट्री प्रालि र राठी ब्राण्डको अन्नपूर्ण केवल्स प्रालि रहेका विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

कारबाहीमा परेका उद्योगीले रोक्का गरिएको कारोबार फुकुवाका लागि बिलविजकलगायत आवश्यक कागजातसहित विभागमा उपस्थित हुनुपर्ने महानिर्देशक दाहालले बताए ।

अनुगमन टोलीले मगाएका सबै कागजपत्र र नमूनासहित विभागमा उपस्थित भएको अवस्थामा निजहरुको कारबाही फुकुवा हुने उनको भनाइ छ ।

यसअघि कारोबार रोक्का भएका केही उद्योगको कारबाही फुकुवा गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

वाणिज्य विभागले उत्पादित सबै सामग्रीहरूमा (एमआरपी) अनिवार्य गरेको छ । सिमेन्टका बोरामा एमआरपी राख्नका लागि भने उद्योगीहरूले केही दिनको समय माग गरेकामा त्यो समय सकिन लागेको र आउँदो वैशाख १ देखि (एमआरपी) राखिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तौलेर वा गजले नापेर बेच्ने बाहेकका हरेक सामग्रीमा (एमआरपी) अनिवार्य गरेको हो ।