काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दु धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् । कानून समितिको बैठकमा उनले हिन्दु धर्मप्रति आफ्नो विश्वास रहेको बताए ।
उनले भने, ‘म व्यक्तिगत रूपमा पनि हिन्दु धर्मप्रति विश्वास भएको मान्छे हुँ । हिन्दु धर्म संसारको उत्कृष्ट दर्शनमा आधारित धर्म हो । त्यसमा द्विविधा छैन । तर, हिन्दु धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगरौँ । मान्छेका सम्पत्तिमा आगो लगाएर पुण्य भयो ? जिउँदै घरभित्र मान्छे पोलेर पुण्य भयो ? अनि के चाहियो भन्दा हिन्दु राष्ट्र रे ! त्यसैले यसरी दुरुपयोग नगरौँ ।’
गृहमन्त्री लेखकले चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्या गरे । उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’
राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरूसमेतको उपस्थितिमा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।
संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए ।
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईँलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया