बाँकेमा असिनासहितको वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बाँकेमा असिनासहितको वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित



बाँके । बाँकेमा बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा हिजो बेलुका भएको बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएको डुडुवा गाउँपालिका–५ कम्दीका किसान सूर्यलाल यादवले बताए ।

खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । नकाटेको ठाडो गहुँबालीमा समेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको छ । गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पुर्‍याएको बताए । उनले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरूले अनुगमन गरिरहेको र आठ वटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिए ।

बाँकेमा गएको बुधवार बेलुकादेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पुर्‍याएकोमा हिजो बेलुका परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।