आन्दोलनरत शिक्षकहरूले दिए नयाँ बानेश्वरमा धर्ना

आन्दोलनरत शिक्षकहरूले दिए नयाँ बानेश्वरमा धर्ना



काठमाडौं । आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् ।

माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् ।

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले लगातार काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने, कक्षा १२ को परिक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बसेर समस्या समाधान नभएको भन्दै अब प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने बताएका छन् ।