मालढुंगा–बेनी सडक धमाधम स्तरोन्नति गरिँदै

मालढुंगा–बेनी सडक धमाधम स्तरोन्नति गरिँदै



म्याग्दी । मालढुंगा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदै छ । मालढुंगातर्फदेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर २०० मिटर कालोपत्र भइसकेको छ ।

केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको मालढुंगा–बेनी सडक स्तरोन्नति आयोजनाका इन्जिनियर विष्णु चापागाईले जानकारी दिए ।

चार वर्षअघि ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर स्तरोन्नति थालिएको थियो । तर, निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको इन्जिनियर चापागाईले बताए ।

पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको थियो ।

अहिलेसम्म यस सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ ।