कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे पनि पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालय प्रमुख कृष्णानन्द जोशीले बताए ।
उनका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यसैगरी सन् २०२४ मा एक हजार १५४ विदेशी पर्यटक यहाँबाट नेपाल आएका छन् ।
सन् २०२५ को अहिलेसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्ष मार्चमा मात्रै दुई ८९ जना नेपाल प्रवेश गरेका छन् ।
गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका कार्यालय प्रमुख जोशीले बताए ।
यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, यूके, यूएसए, अर्जेन्टिनालगायत देशका नागरिकहरू आउने गरेका छन् ।
प्रतिक्रिया