कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेज



सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन् । उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ ।

खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग परेका छन् । दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन् ।

दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ । सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन् । कालीकोटमा ४७८, जुम्लामा ५८७, मुगुमा २१, सल्यानमा ५०२, जाजरकोटमा ४२७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन् । त्यस्तै हुम्लामा नौ र रुकुम पश्चिममा १५८ वटा उद्योग खारेज गरिएका छन् ।

कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए । सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ । अहिले यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन् ।

दैलेखमा चार हजार ७४८ उद्योग दर्ता गरिएकामा अहिलेसम्म तीन हजार ५९१ उद्योगको नवीकरण गरिएको छ । कालीकोटमा दुई हजार ८३७ उद्योग दर्ता भएकामा अहिले एक हजार ९३६ वटामात्र उद्योग नवीकरण गरिएको छ ।

यसैगरी जुम्लामा चार हजार ३८६ वटा उद्योग दर्ता भएकामा दुई हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए ।

मुगुमा दुई हजार २३ वटा उद्योग रहेकामा अहिले ४५० वटा मात्र नवीकरण भएका छन् । सल्यानमा तीन हजार ६६३ वटा उद्योग रहेकामा तीन हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ ।

जाजरकोटमा तीन हजार ६८ दर्ता भएकामा एक हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ । डोल्पामा दुई हजार २३६ उद्योग दर्ता भएकामा ९२२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ ।

हुम्लामा तीन हजार ७१९ वटा उद्योग दर्ता भएकामा अहिले आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ । रुकुम पश्चिममा दुई हजार ७३३ उद्योगमा दुई हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

एक लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएका निर्देशनालयले जनाएको छ ।