काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले युक्रेन र रुसबीचको युद्धविराम सम्भव छ कि छैन भनेर अमेरिकाले चाँडै निर्णय गर्नुपर्ने बताएका छन् ।
युरोपेली अधिकारीहरूसँगको बैठकपछि पेरिसबाट बाहिरिने क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले युद्धविराम हुने स्पष्ट सङ्केत नदेखिए केही दिनभित्रै अमेरिकाले रुस–युक्रेन शान्ति सम्झौतामा मध्यस्थता गर्ने प्रयास त्याग्ने चेतावनी दिएको एएफपीले जनाएको छ ।
युक्रेनले आफ्नो देशको पुनर्निर्माणका लागि लगानी कोष स्थापना गर्ने उद्देश्यले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने दिशामा पहिलो कदम चालेको केही घण्टापछि रुबियोको यो टिप्पणी आएको हो । अमेरिकाले विगत तीन वर्षदेखि युक्रेनलाई सहयोग गरिरहेको छ र आफूहरूले यसको अन्त्य चाहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तापछि शान्ति वार्ता शुरू गर्न सहमत भएपछि युक्रेन र युरोपेली सहयोगीहरूलाई बेवास्ता गरेकाे छ भने युरोपेली शक्तिहरू वार्तामा बस्न चाहिरहेका छन् ।
अमेरिकी विदेशमन्त्री रुबियोले युरोपेली अधिकारीहरूले बिहीवार भएको वार्तामा ‘आफ्ना विचारहरूमा निकै सहयोगी र रचनात्मक बनेको बताएका छन् । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न युरोपेली देशहरूले विचार गर्ने पनि आफूले आशा व्यक्त गरेको उनले बताए ।
युरोपेली देशहरूले गएको महिना रुसमाथिको प्रतिबन्ध फुकुवा गर्नुको साटो बढाउने सहमति गरेका थिए ।
प्रतिक्रिया