अमेरिकाद्वारा चिनियाँ पानीजहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा

अमेरिकाद्वारा चिनियाँ पानीजहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा



काठमाडौं । अमेरिकाले चीनमा निर्मित र उसबाट सञ्चालित पानी जहाजमा नयाँ बन्दरगाह शुल्कको घोषणा गरेको छ ।

घरेलु जहाज निर्माण उद्योगलाई प्रोत्साहन दिने र यो क्षेत्रमा चीनको प्रभुत्व रोक्नका लागि भन्दै अमेरिकाले शुल्क लगाएको हो ।

नयाँ नियमअनुसार प्रति टन भार वा प्रति कन्टेनर शुल्क हरेक बन्दरगाहमा नभई चीनसँग जोडिएका हरेक जहाजको अमेरिकी यात्रामा लागू हुनेछ ।

योजनाअनुसार आउँदो अक्टोबरको मध्यदेखि चिनियाँ मालवाहक पानीजहाजका मालिक तथा सञ्चालकलाई प्रतिटन कार्गोबापत ५० अमेरिकी डलर शुल्क लगाइने छ र त्यो आउँदो तीन वर्षसम्म हरेक वर्ष शुल्क बढ्ने छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पको कर वृद्धिलाई लिएर अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलिरहेको अवस्थामा पछिल्लो घोषणा सार्वजनिक भएको हो ।

अमेरिकी आर्थिक सुरक्षा र वाणिज्यको स्वतन्त्र प्रवाहका लागि पानीजहाज र पानीमार्फत् हुने ढुवानी महत्त्वपूर्ण रहेको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले बताए ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार चीन, दक्षिण कोरिया र जापानले ९५ प्रतिशतभन्दा धेरै पानी जहाज निर्माण गर्छन् । चीनले नयाँ शुल्क ‘सबै पक्षका लागि हानिकारक’ हुने चेतावनीसमेत दिएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले ढुवानी लागत, विश्वव्यापी उत्पादन र आपूर्ति शृङ्खलाको स्थिरतालाई बिथोल्ने तथा अमेरिकी उपभोक्ता र व्यवसायको हितलाईसमेत हानि पुर्‍याउने बताएका छन् ।

ट्रम्पको करका कारण विश्वव्यापी व्यापार अवरुद्ध भएको बेला यो घोषणाको असर व्यापक हुन सक्ने चेतावनी विज्ञहरूले समेत दिएका बीबीसीले जनाएको छ ।