सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।
दुई दिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षरोपण पनि गरे ।
अवलोकनका क्रममा उनीहरूले आयाेजनाकाे अहिलेसम्मको प्रगति र आयोजना निर्माणका क्रममा देखिएका समस्याका बारेमा ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए ।
सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ । याे आयोजना विसं २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । १ खर्ब चार अर्ब रुपैयाँकाे लागतमा निर्माण सम्पन्न हुने यस आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ ।
प्रतिक्रिया