कांग्रेस सांसद राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कांग्रेस सांसद राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।

राई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट पक्राउ परेकी थिइन् । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप छ ।

उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।