चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा संकलन शुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा संकलन शुरु गरेको हो ।
राप्ती नदी क्षेत्रमा गएको चैत १ गतेदेखि यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो । भेटिएका गुँडबाट अण्डा संकलन शुरु गरिएको उनको भनाइ छ ।
गएको वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा संकलन हुने अनुमान गरिएको उनले बताए । गएको वर्ष २ सय ४७ वटा अण्डा संकलन गरी कोरलिएको थियो ।
निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा संकलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ ।
प्रतिक्रिया