काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन् । उनले विदेशी चलचित्रहरूमा सय प्रतिशत कर लगाउने बताएका हुन् ।
ट्रम्पले विदेशी चलचित्रहरूमा कर लगाउने प्रक्रिया शुरू गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताएको बीबीसीले जनाएको छ ।
उनले अमेरिकाको चलचित्र उद्योगलाई डुबाउन अन्य देशहरूले अमेरिकाका चलचित्र निर्माता र स्टुडियोहरूलाई प्रोत्साहन गरिरहेका आरोपसमेत लगाएका छन् ।
यसका लागि अन्य देशहरूले सङ्गठित प्रयास गरिरहेकाले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको उनको भनाइ छ । यद्यपि अमेरिकामा चलचित्रहरू बनोस् भन्ने आफ्नो चाहना रहेको ट्रम्पले उल्लेख गरेका छन् ।
गएको जनवरीमा आफ्नो दोस्रो कार्यकाल शुरू भएदेखि नै ट्रम्पले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिने र रोजगारी बचाउने भन्दै विश्वभरका देशहरूमा कर लगाइरहेका छन् । तर उनको कर नीतिले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ ।
प्रतिक्रिया