सम्झनामा महेश कोर्मोचा, चिन्नेहरु कसरी सम्झन्छन् ?

सम्झनामा महेश कोर्मोचा, चिन्नेहरु कसरी सम्झन्छन् ?



शुक्रबार राति देशले प्रजातान्त्रिक आन्दोलनका एक अग्रज व्यक्ति गुमायो । ८२ वर्षे उमेरमा कांग्रेस नेता महेशकुमार कोर्मोचाको देहवासन भयो । १९९९ सालमा ओखलढुंगाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा बेलायती सेनाको जागीर छोडेर नेपाली कांग्रेसले आह्वान गरेको संसदीय व्यवस्था पुनस्र्थापनाको लागि सशस्त्र विद्रोहमा होमिएका थिए ।

वि.स.२०२६ सालमा संसदीय व्यवस्था पुनस्र्थापनाको लागि विपी कोइरालाले सशस्त्र विद्रोह आह्वान गरे । त्यसको लागि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । कोर्मोचाका हजुरबुबा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती भएका थिए ।

सोलुको सैनिक क्याम्प कब्जा गरी श्रृंखलाबद्ध रुपमा विद्रोहलाई अगाडी बढाउने निर्णय कांग्रेसले गर्‍यो । विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा महेश कोर्मोचा पनि थिए ।

क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो । बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस बच्न सफल भएका थिए । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।

ओडारमा बसेका केही लडाकु जोगिन सफल भएका थिए । जोगिने मध्येमा एक थिए कमाण्डर क्याप्टेन यज्ञबहादुर थापा । उनी नेपाली सेनाका पूर्वक्याप्टेन थिए । नेपाली कांग्रेसले २०२६ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पुर्‍याइ हत्या गरिएको थियो ।

संयोगवस बाच्न सफल महेश कोर्मोचा विपी कोइरालालाई भेट्न भारत पुगे । सैनिक पृष्ठभुमि भएका कोर्मोचा सशस्त्र लडाकुहरूको संयोजन गर्ने, शस्त्र व्यवस्थापन गर्ने, ट्रेनिङको व्यवस्था मिलाउने जस्ता काममा खटिए । भारतमा बसी सशस्त्र विद्रोहको कालखण्डमा एक मुख्य पात्रको रुपमा कोर्मोचाको प्रमुख भुमिका रहेको थियो ।

विसं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर विपी स्वदेश फर्किएपछि महेश कोर्मोचा पनि स्वदेश फर्किएर पक्राउ परे । राज्यविरुद्धको मुद्दामा उनले पटकपटक गरी आठ वर्षको जेल जीवन बिताएका छन् । नेपालको संसदीय व्यवस्था पुनस्र्थापना, लोकतन्त्र स्थापना, विभिन्न संघर्ष र आन्दोलनहरुको क्रममा पनि कोर्मोचाले जेल जीवन व्यतित गरेका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोर्मोचाले कांग्रेस पार्टीको विभिन्न पदमा बसेर योगदान पुर्‍याएका छन् । कुशल नेतृत्वकर्ताको रुपमा कोर्मोचाको पहिचान बनेको छ । विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति भएका थिए ।

वि.स.२०२४ सालमा नेपाली काँग्रेस जिल्ला कार्य समितिको सदस्य पदबाट राजनीतिक यात्रा सुरु गरेका कोर्मोचा, २०२७ सालमा नेशनल कलेजको स्व.वि.यु.उपसभापति, २०३१ सालको सशस्त्र आन्दोलनका कमाण्डर बनेका थिए । २०३७ सालमा जिल्ला सचिव, २०४९ देखि २०५४ सम्म जिल्ला विकास समिति ओखलढुङ्गाको सभापति, २०५३ सालमा नेपाली काँग्रेस ओखलढुंगा जिल्ला कार्य समितिको सभापति भएका थिए ।

ओखलढुंगामा कांग्रेसको संगठन विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोर्मोचा ओखलढुंगा मात्र नभएर देशैभर लोकप्रिय थिए । कुनैबेला ओखलढुंगाको माटो, ढुंगा, पातपतिङ्गरले पनि महेश कोर्मोचासँग कुरा गर्छन् भन्ने गरिन्थ्यो । अहिले पनि ओखलढुंगा कांग्रेसका नेता कार्यकर्ताहरु कांग्रेसको बलियो संगठनको देन उनै कोर्मोचालाई दिने गर्छन् । पछिल्लो समयमा राजनीतिको बागडोर पछिल्लो पुस्तालाई हस्तान्तरण गरेर सामाजिक अगुवाको भूमिका निभाएका कोर्मोचा हक्की स्वभाव र मृदुभाषी थिए ।

कोर्मोचाको निधनले लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसलाई अपुरणीय क्षति भएको उल्लेख गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालय र जिल्ला कार्यसमिति ओखलढुंगाले शोक वक्तव्य जारी गरेका छन् । कोर्मोचाको पार्थिव शरिर अन्तिम श्रद्धान्जलीको लागि आइतबार विहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । पार्टी सभापति शेरबहादुर देउवा लगायत नेता कार्यकर्ताले श्रद्धान्जली दिएर कोर्मोचाको विदाई गरेका छन् ।

कोर्मोचालाई चिन्नेहरुले कसरी सम्झन्छन् ?
नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शोक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति, पूर्वजिविस सभापति एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा महेशकुमार कोर्मोचाको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय कोर्मोचाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने सांसद तथा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले भनेका छन्, ‘ओखलढुंगा कांग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका कोर्मोचा हाम्रा आदणीय अभिभावक हुनुहुन्थ्यो । ओखलढुंगामा नेपाली कांग्रेसको संगठन अहिले जे छ, त्यसमा उहाँको नेतृत्वदायी भूमिकाबाट सम्भव भएको हो । उहाँले पटकपटक जेल सजाय भोग्नु भयो, टिमुरबोटे काण्डबाट भाग्यवस् बच्नु भएको उहाँलाई पञ्चायतले मृत्युदण्डसमेत सुनाएको थियो । बीपी कोइरालासँग समिपमा रहेर कांग्रेसका हरेक आन्दोलनमा उहाँ जोडिनु भएका छ । उहाँ कुशल संगठक मात्र हुनुहुन्थेन, सरल र मृदुभाषी ओखलढुंगाका प्रिय नेतासमेत हुनुहुन्थ्यो । हामी उहाँलाई सधैँ सम्झिरहने छौं ।’

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले कोर्मोचाको प्रशंसा गर्दै लेखेका छन्, ‘आज जुन कलम चलाउँदैछौं, जे बोल्दैछौं, जहाँ जाँदैछौं, जुन प्रतिनिधि छान्ने अधिकार प्राप्त गरेका छौं त्यसको लागि पञ्चायती कालखण्डमा मृत्युदण्डको सजाय सुनाइएका, नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका आन्दोलनका योद्धा, लामो समय जेल र प्रवासमा जीवन बिताउनु भएका महेश कोर्मोचा दाइ जस्ताको त्याग समर्पणसँग जोडिएको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार भन्छन्, ‘म उहाँकै प्रेरणाबाट कांग्रेस पार्टीमा लागेको हुँ । उहाँ कसैसँग नझुक्ने स्वाभिमानी हुनुहुन्थ्यो । सहज, सरल र मेहेनेतीको परिचय बनाउनु भएका महेश सानातिना कुरामा कत्ति पनि विचलित हुनुहुँदैन थियो ।’ जीवन चलाउन अरुको सहयोग नखोज्ने महेशबारे केन्द्रीय सदस्य सुनुवार भन्छन्, ओखलढुंगा कांग्रेस संगठन निर्माणका लागि हिडेरै गाउँ गाउँ पुग्नुहुन्थ्यो । गाउँलेसँग प्रत्यक्ष भेटेर कुराकानी गर्ने स्वभावले गर्दा उहाँलाई अधिकांश गाउँलेले चिन्थे ।’

राजनीतिक विश्लेषक, बरिष्ठ पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहाल भन्छन्, ‘सामान्य परिवारमा जन्मेर नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नु भएका महेश कोर्मोचा बीपी कोइरालाको आदर्शप्रति समर्पित व्यक्तित्व हुनुहुन्थ्यो । नेपाली कांग्रेस बीपीको आदर्शमा हिड्नुपर्छ भन्ने महेशजी लोकतन्त्रप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँ नभएको भए बीपी कोइरालाले सञ्चालन गर्नुभएको लोकतान्त्रिक अभियान नै चल्न सक्दैन थियो । उहाँको निधनबाट ओखलढुंगाले एकजना नेता मात्र गुमाएको छैन, लोकतान्त्रिक आन्दोलनलाई नै क्षति पुगेको छ ।’

नेपाली कांग्रेसका पूर्वनेता एवं पूर्वमन्त्री जयप्रकाश गुप्ता सामाजिक सञ्जालमा राखिएको लेखमार्फत् भन्छन्, ‘नेपालमा संसदीय व्यवस्थाको पुनस्र्थापनाको आन्दोलनमा यातना पाउने, धरपकडमा पर्ने, जेल बस्ने, प्रवासिनेको संख्या धेरै छ । सामान्य रूपमा याद गर्दा यस मध्ये महेश कर्मोचा पनि एक हो । उहाँ बिपी कोईरालाले आह्वान गर्नु भएको बि.स.२०२६ उप्रान्तको सशस्त्र बिद्रोहका एक मुख्य पात्र रहनु भयो । यस कालखण्डमा भारतको प्रवासमा रहनु, जोगबनीलाई र सीतामढी नजिकको सीमावर्ती सुरसण्डलाई केन्द्र मानी सशस्त्र लडाकाहरूको संयोजन गर्नु, शस्त्र व्यवस्थापन गर्नु, ट्रेनिङको व्यवस्था मिलाउनु जस्ता काममा महेशजीको एक प्रमुख भुमिका रहेको थियो । नेपाली राजनीतिका एक मुख्य पात्र महेश कर्मोचाजीको योगदानको कथा लामो छ ।’

पत्रकार एवम् ग्लोब नेपालका प्रधानसम्पादक र ओखलढुंगामा महेश कोर्मोचाको राजनीति नजिकबाट नियालेका गौतम दाहाल लेख्छन्, ‘महेश दाइ एउटा जिउँदो र सिंगो इतिहास हुनुहुन्थ्यो नेपाली काँग्रेसको राजनीतिक पानामा । ओखलढुंगाको भूगोल त उहाँका लागि धेरै सीमित हो, उहाँ राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो । ब्रिटिश लाहुरेको जागिरे जीवन छाडेर काँग्रेसको क्रान्तिमा होमिनु भएका महेश दाइ गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको विराटनगरको त्यो हवाईजहाज अपहरण काण्डपछिको व्यवस्थापनको प्रत्यक्ष साक्षी भएर काम गरेको र जीप चलाएर पैसा बोकेर हिंडेको धेरै घटनाक्रम सुनाउनु हुन्थ्यो ।

नेपाली काँग्रेस ओखलढुंगाको संगठन निर्माणमा महेश कोर्मोचा दाइको योगदानको अभाव सदा खट्किरहनेछ । आज जो जहाँ पुगेका छन् त्यसको आधार महेश दाइ नै हो । हामी नेविसंघको विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा सधैं आड, भरोसा दिलाउने नेता महेश दाइ नै हुनुहुन्थ्यो । ओखलढुंगाको हरेक गाउँ र टोलमा पुगेर संगठनका लागि काम गर्ने र ओखलढुंगा काँग्रेसलाई त्यो बेला पहिलो पार्टी बनाउने नेतृत्वकर्ता महेश दाइ नै हो ।’