काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकमा गर्भनर नियुक्त गर्ने चर्चा चलेसंगै लगातार ६ दिनसम्म ओरालो लागेको शेयर बजार आज एकाएक हरियाली देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १९.३० अंकले उकालो लाग्दै २,६२८.३६ विन्दुमा पुगेको छ।
आजको कारोबारमा होटल समूह बाहेक सबै उपसमूहमा सुधार देखिएको छ। विशेषगरी विकास बैंक समूहको सूचक करिब २ प्रतिशतले बढ्दा बैंक र निर्जीवन बीमा समूहको सूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, र तेह्रथुम पावर कम्पनीका शेयर आज १० प्रतिशतले उक्लिएका छन्। भने, विन नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले ओरालो लागेको छ।
यद्यपि, बजार सुधारिए पनि कारोबार रकम भने घटेको छ। हिजोको ८ अर्ब ५० करोडको तुलनामा आज ३२४ कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा मात्रै किनबेच भयो।


प्रतिक्रिया