नेप्से २७७१ विन्दु छोएर घट्यो, कारोबार रकम १० अर्ब नाघ्यो

नेप्से २७७१ विन्दु छोएर घट्यो, कारोबार रकम १० अर्ब नाघ्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले मंगलबार कारोबारको प्रारम्भमा उत्साहजनक सुधार देखाए पनि बजार अन्त्यतिर आएर ओरालो लागेको छ। नयाँ गभर्नरको नियुक्तिपछि बजारमा देखिएको सुरुआती उत्साह टिक्न सकेन।

आज दिनको सुरुवातमा नेप्से ‘प्रि–ओपनिङ’ सेसनमा ३७ भन्दा बढी अंकले बढेको थियो। दिउँसो ११ बजेतिर परिसूचक २ हजार ७ सय ७१ विन्दुसम्म पुगेको थियो, जुन पछिल्लो समयको उच्च विन्दु हो। तर बजार बन्द हुँदा नेप्से ७.९४ अंक घटेर २६६९.५१ विन्दुमा आइपुग्यो।

बजार समग्रमा कमजोर देखिए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। कुल ३१६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यो अघिल्लो दिनको ७ अर्ब ३१ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

खासगरी बैंक, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य सबै समूहको शेयरमा आज गिरावट देखिएको छ। विशेषतः जलविद्युत् समूहको सूचकांकमा १ प्रतिशतको गिरावट आएको छ।

श्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ, जुन दिनकै प्रमुख घाटा व्यहोरेको कम्पनीमध्ये पर्दछ। यस्तै, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले घट्दै सर्किट ब्रेकरमा पुगेको छ।

यसरी बजारले प्रारम्भमा देखाएको चहकिलो उकालो केही घण्टामै ओरालो लागे पनि उच्च कारोबारले लगानीकर्ताको सक्रियता भने देखाएको छ।