काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूबीच चर्काचर्की भएको छ । बुधबार समितिको बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूबीच केहीबेर चर्काचर्की चलेको हो ।
बैठकमा माओवादीका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिको सभापति सत्तारुढ दलकै सांसद भएको विषयमा प्रश्न उठाएपछि चर्काचर्की भएको छ ।
बैठकमा राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले पोखरा विमानस्थलमा भएको भ्रष्टाचार प्रकरणमा समितिलाई बुझाएको प्रतिवेदनमाथिको छलफल भएकाे थियाे ।
माओवादी सांसद मोदीले प्रधानमन्त्री पनि एमालेकै र प्रमुख प्रतिपक्ष दलको सांसद सभापति हुनुपर्ने सार्वजनिक लेखा समितिको सभापति पनि सत्तारुढ दल एमालेकै भएकोमा आपत्ति जनाएपछि एमालेका सांसद प्रतिवादमा उत्रिएपछि चर्काचर्की चलेको हो ।
सांसद मोदीले भने, ‘म आरोप त लगाउन चाहान्न्, नेकपा (एमाले)का साथीहरुलाई आरोप लगाउनु पनि छैन मलाई । किनभने तपाइहरुको पार्टीको प्रधानमन्त्री पनि हुनुहुन्छ । सार्वजनिक लेखा समितिको सभापति तपाईंको पार्टीकै हुनुहुन्छ । अनि फरक मत पनि तपाईंहरु नै राख्नुहुन्छ वा पुरक प्रस्ताव पनि तपाईंहरु नै राख्नुहुन्छ ।’
माओवादी सांसद मोदीले यति भनेपछि एमालेका सांसदले मोदी बोलिरहेकै बेला बोल्न थाले । मोदीले आफ्नो पालोमा आफूलाई बोल्न दिन आग्रह गरे । उनले भने, ‘सत्तापक्षको तपाईंहरु नै हुनुहन्छ । सभापति पनि तपाईंकै छन् ।’
मोदी बोलिरहेकै बेला एमालेका सांसद गोकुल बास्कोटा, योगेश भट्टराई लगायतले बोल्न थाले । मोदीले ठुलो स्वरमा जोड दिँदै भने, ‘एमालेको प्रधानमन्त्री हुनुहुन्न र ? सत्तापक्षको सभापति हुनुहुन्न र ? त्यहि त कुरा गर्दैछु ।’ सत्तापक्षका प्रधानमन्त्री हुदाँ पनि सभापति पनि सत्तापक्षकै हुनुहन्छ । हामीले भन्यौ, यो समितिको सभापति प्रतिपक्ष हुनुपर्छ ।’
सांसदका विचमा चर्काचर्की हुन थालेपछि समितिका सभापति ऋषिकेश पोखरेलले बैठकलाई सहजीकरण गर्दै भने सांसदलाई बोलेको विषयमा व्याख्या नगर्न आग्रह गरे ।
त्यसपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि बोल्न थाले । एमालेका सांसद बास्कोटा र स्वतन्त्र सांसद सिंह झोक्किँदै बाझाबाझ गर्न थाले । त्यसपछि एमाले सांसद भट्टराईले पनि को हो तपाईं भन्दै सिंहलाई प्रश्न गरे । त्यसपछि माओवादी सांसद लेखनाथ दाहाल पनि बोल्न थाले ।
सभापति पोखरेलले सहजीकरण गर्दै दलका प्रतिनिधिका रुपमा नभई समितिको सदस्यको रुपमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
त्यसपछि माओवादी सांसद मोदीले समितिको सभापति प्रमुख प्रतिपक्षलाई दिुन पर्दैन त भन्दै प्रश्न गरे । त्यसपछि सभापति पोखरेले अमन मोदीको पालो भएकाले बोल्न आग्रह गरे ।
याे पनि : उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने लेखा समितिको निर्णय
प्रतिक्रिया