नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको “विरोध यात्रा” पछिल्लो समय अन्तरपार्टी प्रतिस्पर्धामा एक प्रकारको छलाङमा परिणत भएको देखिन्छ। विशेषतः पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उहाँको आलोचना झन् तीव्र बन्दै गएको छ। यसले मेरो मनमा केही जिज्ञासाहरू जन्माएको छ। तर त्यसअघि एक यथार्थलाई स्मरण गरौं नेपाली काँग्रेस वस्तुतः सत्तासँग नजिक रहन रुचाउने दल हो।
वि.सं. २००७ ताका गोरखा दलका एकाध अपवादलाई अलग राख्ने हो भने, काँग्रेसले राणा-काँग्रेस संयुक्त सरकार छोड्नुको मुख्य कारण सत्ता सञ्चालनमा निर्बाध पहुँच नपाउनु नै हो। यस्तै ढाँचामा वि.सं. २०५१ पछि देखिएको संसदीय अस्थिरतामा काँग्रेसको भुमिकाले पनि सत्ता र काँग्रेसबीचको सम्बन्ध स्पष्ट हुन्छ। डा. शेखर कोइरालाले यस यथार्थलाई नजरअन्दाज गर्न सक्ने अवस्था छैन।
अब मूल प्रसंगतिर लागौं—
१. सत्ता सन्तुलन र डा. कोइरालाको धारणा
वर्तमान संसदीय गणितले काँग्रेस एक्लैले सरकार बनाउने सम्भावना नितान्त न्यून देखिन्छ। यस अवस्थामा काँग्रेसका लागि तीनवटा विकल्प छन्:
क) माओवादी र काँग्रेसको गठबन्धन सरकार, जुन माओवादी वा काँग्रेसले नेतृत्व गर्न सक्छ। अतीतमा यस्तो प्रयास भइसकेको छ, तर माओवादीले काँग्रेसको नेतृत्व अस्वीकार गरेका थिए। माओवादी नेतृत्वमा काँग्रेस असहज महसुस गर्यो। यसमा भारत र चीनको भूमिका पनि उपेक्षणीय थिएन।
ख) माओवादी वा एमालेको नेतृत्वमा गठबन्धन सरकार। यस्तो सरकार बनेको पनि छ। यो अवस्थामा काँग्रेसको भूमिका प्रतिपक्षको थियो, जुन काँग्रेसलाई स्वीकार्य भएन। परिणामतः काँग्रेस तेस्रो गठबन्धनतर्फ आकर्षित भयो र राजनीतिक संयम देखाउन असफल रह्यो।
ग) एमाले–काँग्रेस गठबन्धन, जुन अहिलेको यथार्थ हो। हाल नेतृत्व एमालेसँग छ र प्रधानमन्त्री केपी ओलीको भनाइ अनुसार केही समयपछि नेतृत्व काँग्रेसतर्फ सर्नेछ। तर वर्तमान संरचना र शक्ति सन्तुलन हेर्दा नेतृत्व डा. शेखर कोइरालाको हातमा जाने सम्भावना कतै देखिँदैन।
यहाँ एक स्पष्ट जिज्ञासा उठ्छ—डा. शेखर कोइरालाको चाहना के हो? उहाँ सत्तामा जान चाहनुहुन्छ वा पार्टीलाई स्पष्ट प्रतिपक्षको भूमिकामा देख्न चाहनुहुन्छ? यदि प्रतिपक्षमै रहन चाहनुहुन्छ भने, त्यसलाई उहाँले स्पष्ट रूपमा अभिव्यक्त गर्न सक्नु भएको छैन, न त सरकारमा सहभागी नहुनु भनेर व्यवहारतः देखाउन सक्नु भएको छ।
यदि उहाँ एमालेको नेतृत्वमा काँग्रेसको हैकम खोज्दै हुनुहुन्छ भने, त्यो व्यवहारतः सम्भव छैन। काँग्रेस आफैंले यस्तो व्यवस्था स्वीकारी गर्ने सम्भावना छैन। यो पुरानै अभ्यास हो।
वाम दलहरूसँग सत्ता साझेदारीको विषयमा डा. शेखरको दृष्टिकोण स्थिर देखिँदैन। माओवादीको नेतृत्व हुँदा काँग्रेसमाथि माओवादीकै काँधमा बन्दुक राखेर प्रहार गर्ने, एमालेको नेतृत्व हुँदा एमालेलाई निशाना बनाउने—यस्तो द्वैध रणनीति देखिन्छ। केन्द्रमा एमालेको विरोध, तर प्रदेशमा एमालेकै साथमा सरकार बनाउने—यो विरोधाभाषको राम्रो उदाहरण हो।
२. भ्रष्टाचारप्रति अस्पष्ट धारणा
भ्रष्टाचारप्रति डा. शेखरको दृष्टिकोण पनि स्पष्ट छैन। व्यक्तिको आधारमा फरक फरक मापदण्ड अपनाइएको देखिन्छ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणको प्रकरणमा प्रारम्भमा उहाँ मौन रहनुभयो। तर जब सभापति देउवाले खाणलाई जोगाउन सकेनन् र खाण देउवाविरुद्ध बोले, त्यसपछि डा. शेखरको सम्पर्क खाणसँग बढ्न थाल्यो। अहिले उनीहरू सँगसँगै देखिन्छन्।
यस्तै, अर्का नेता मोहनबहादुर बस्नेत देउवा पक्षमा थिए। जब उनीमाथि मुद्दा लाग्यो र देउवासँग दूरी बढ्यो, डा. शेखरले पनि कुनै प्रतिक्रिया जनाउनुभएन। तर वर्तमान गृहमन्त्री रमेश लेखकको प्रकरणमा भने उहाँले निकै कठोर टिप्पणी गर्नुभएको छ।
यसबाट डा. शेखर पार्टीभित्र विवादित बन्दै जानुभएको देखिन्छ। यदि उहाँ साँच्चिकै गृहमन्त्रीको राजीनामा चाहनुहुन्छ भने, त्यसको सन्दर्भमा पार्टीको स्पष्टीकरणको जवाफ दिन तयार हुनुपर्छ। बाहिर उहाँ लोकप्रिय देखिनु भए पनि, पार्टीभित्र उहाँको पक्ष कमजोर छ।
अब प्रश्न उठ्छ—रमेश लेखकको प्रकरण र बालकृष्ण खाणसम्बन्धी प्रकरणमा कस्तो भिन्नता थियो? आरजु राणा देउवाको नाम पनि खाण प्रकरणमा जोडिएको थियो, तर त्यतिबेला उहाँ मौन बस्नुभयो। अहिले लेखकमाथि ठूला आरोप लागेपछि उहाँ चर्को आलोचक बन्नु भएको छ। के लेखकलाई “कमजोर चरा” सम्झेर राजनीतिक दृष्टिले प्रयोग गरिएको त होइन?
निष्कर्ष
पार्टी सभापति देउवाविरुद्ध डा. शेखर एक सम्भावनायुक्त विकल्प हुनुहुन्छ। तर यसका लागि आवश्यक वातावरण तयार गर्नु, आफ्नो पक्षलाई संरक्षण गर्नु र रणनीतिकरूपमा शक्ति आर्जन गर्नु उहाँकै जिम्मेवारी हो।
मलाई यहाँ के भन्नु छ भने—हालसाल उहाँका अभिव्यक्तिहरू ‘गुनासोमुखी’ बढी भइसकेका छन्। सरकारको पनि आलोचना, माओवादी र एमालेको पनि आलोचना—तर आफू पनि सत्ता चाहने? यस्तो दोधार भाषण अब ‘कर्णप्रिय’ लाग्न छाडेको हो कि, डा. साहेब ?
प्रतिक्रिया