काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफार्यसमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरू भिड्दै छन् । दुबै टोली पहिलो पटक आईपीएलको फाइनल प्रवेशका लागि भिड्दैछन् ।
मुल्लांपुरको महाराजा यादवेन्द्र सिंह इन्टरनेशनल स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरू हुनेछ । सन् २०१४ पछि पहिलो पटक प्लेअफमा पुगेको पञ्जाब अंक तालिकाको शीर्ष स्थानमा छ ।
पछिल्ला केही सिजन नियमित प्लेअफ खेले पनि बैंगलुरूले २०१६ पछि पहिलो पटक शीर्ष २ मा स्थान बनाएको हो । आईपीएलमा दुई टोलीबीच खेलिएका ३५ खेल मध्य पञ्जाबले १८ र बैंगलुरूले १७ खेल जितेको छ । यस सिजन दुबै टिमले एक–एक खेल जितेका छन् । यसै मैदानमा बैंगलुरूले पछिल्लो खेलमा पञ्जाबलाई ७ विकेटले हराएको थियो । साथै बैंगलुरू यस सिजिन अवे मैदानमा अपराजित छ ।
पञ्जाब मुख्य रूपमा घरेलु युवाहरूमा निर्भर देखिन्छ । उसका भारतीय अनक्याप्ड खेलाडीहरूले सानदार प्रदर्शन गरेका छन् । बैंगलुरूले यस पटक सुपरस्टारभन्दा टिम सन्तुलनमा विश्वास राखेको देखिन्छ ।
आज दुबै टिमलाई महत्वपूर्ण खेलाडीको अनुपस्थितिले केही समस्यामा पार्न सक्छ । पञ्जाबका मार्को यान्सन विश्व टेस्ट च्याम्पियनसिप तयारीका लागि यस अघिनै दक्षिण अफ्रिका फर्किसकेका छन् । बैंगलुरूका टिम डेविड हृयामस्ट्रिङको चोटका कारण सम्भवतः बाहिर रहनेछन् ।
पञ्जाबका युजवेन्द्र चहल र आरसीबीका जोश हेजलवुड चोट मुक्त भएका छन । यी दुबै खेलाडीले आ–आफ्नो टिममा पुनरागमन गर्न सक्छन् ।
प्रतिक्रिया