आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान



काठमाडौं । प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए ।

चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार रू ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी ५.८६ प्रतिशतले वृद्धि सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

औद्योगिक, व्यापारिक, सेवा र सामाजिक, जनउपयोगी र वित्तीय गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन् । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका छन् । २५ वटामा अधिकांश सरकारको लगानी रहेको छ ।

कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ । ०७९/८० को तुलनामा ०.२३ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २८ वटा नाफामा रहेको अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै, १५ वटा संस्थान घाटामा रहको उनले बताए । दुईवटा भने पूर्ण रूपमा बन्द अवस्थामा छन् ।